close

ट्रायल पास गर्ने बित्तिकै नागरिक एपमा कसरी आइपुग्छ लाइसेन्स ?

टेकपाना टेकपाना

कात्तिक ६, २०८१ १४:४१

ट्रायल पास गर्ने बित्तिकै नागरिक एपमा कसरी आइपुग्छ लाइसेन्स ?

काठमाडौं । बागमती प्रदेशमा अब भौतिक सवारी चालक अनुमति पत्र (लाइसेन्स) बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । नागरिक एपमा लिङ्क गरिएको लाइसेन्सबाटै चिट दिन सकिने व्यवस्था लागू भएपछि लाइसेन्स बोकेर हिँड्नुपर्ने बाध्यता हटेको हो । 

यो सेवा लागू भएसँगै ट्राफिक चेकिङको समयमा सवारी चालकले आफ्नो नागरिक एपमा लिङ्क भएको क्यूआर कोड सहितको लाइसेन्स देखाउन सक्छन् । चेकिङको क्रममा कुनै ट्राफिक नियम उल्लङ्घन भई जरिवाना तिर्नुपर्ने अवस्था भए चालकले अनलाइनमार्फत चिट प्राप्त गर्न सक्छन् । यसरी प्राप्त भएको चिटमा तोकिएको जरिवाना डिजिटल पेमेन्ट सिस्टम मार्फत तिर्न सकिन्छ ।

चालकले जरिवाना तिरेको वा नतिरेको भन्ने विवरण प्रहरीको 'Traffic Violation Record System' मा रहने हुँदा जरिवाना भरपाई नभएसम्म दोस्रो पटक कुनै कसुरमा ई-चलान (चिट) प्राप्त गर्न सकिंदैन ।

जरिवाना भरपाई भएको विवरण पनि नागरिक एपमै प्राप्त गर्न सकिन्छ भने भरपाई नभएको सूचना नोटिफिकेसनमार्फत प्राप्त भइरहन्छ । त्यस्तै भौतिक कक्षा लिनुपर्ने भए सो कक्षामा सहभागी नभएसम्म कसुर क्लियर भएको नोटिफिकेसन प्राप्त गर्न सकिने छैन ।

नयाँ सवारी चालकको हकमा के हुन्छ ?

सबैभन्दा पहिले त व्यक्तिले नागरिक एप इन्स्टल गरेर आफ्नो सबै विवरण राखी भेरिफाई गर्नुपर्छ । त्यसपछि ट्रायलमा पास भई रसिदबापतको रकम तिर्नुपर्ने हुन्छ । अनि यति भएपछि उक्त रसिदमा लाइसेन्स नम्बर हुन्छ । उक्त लाइसेन्स नम्बर नागरिक एपमा लिङ्क गर्न सकिन्छ । त्यस लगत्तै एपमा डिजिटल लाइसेन्स देखिन्छ ।

यातायात व्यवस्था कार्यालय राधेराधेका सूचना अधिकारी जीवनकुमार बस्नेतका अनुसार लाइसेन्स एक्स्पायर भए/नभएको एपमा भएको मितिबाट थाहा पाउन सकिन्छ । चालकले नवीकरण गरेको खण्डमा उक्त लाइसेन्समा नयाँ मिति देखिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८१ १६:३१