काठमाडौं । स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरूप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरू गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यान्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन दिन आह्वान गरेको हो ।
गत वर्ष १८औं वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रमअन्तर्गतका परियोजनाहरू प्रदेश स्तरमा सञ्चालनमा रहेका छन् । यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ कार्यक्रम अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरू लागू गरिने कम्पनीले जनाएको छ ।
‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने बताइएको छ । छनोटमा परेका प्रत्येक परियोजनाले १० लाख रुपैयाँ अनुदान पाउनेछन् । यस पहलका लागि कुल योगदान एक करोड ९० लाख रुपैयाँको हुने कम्पनीले जनाएको छ ।
एनसेल फाउन्डेसनले गैरनाफामूलक स्थानीय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात् परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको छ ।
अनुदान अर्थात परियोजना प्रस्तावका लागि आवेदन दिन इच्छुक योग्य संघसंस्थाहरूले एनसेल फाउन्डेसनको वेबसाइटमा गई ‘एप्लाई फर ग्रान्ट’मा क्लिक गरेर आवेदन दिन सक्छन् । अनुदान र यसको योग्यता र मापदण्डबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।