close

खल्ती वालेटबाट काटिएका भीआईपी टिकट फिर्ता हुने, साधारण टिकटलाई मात्र मान्यता

टेकपाना टेकपाना

कात्तिक १३, २०८१ २१:२९

खल्ती वालेटबाट काटिएका भीआईपी टिकट फिर्ता हुने, साधारण टिकटलाई मात्र मान्यता

काठमाडौं । साफ महिला च्याम्पियनशिपको फाइनल खेलका लागि खल्ती वालेटमार्फत खरिद गरिएका भीआईपी टिकट फिर्ता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक सूचना जारी गर्दै अनलाइन माध्यमबाट काटिएका भीआईपी टिकट रिफन्ड हुने र साधारण टिकटले मात्र मान्यता पाउने जानकारी दिएको हो ।

बुधवार बिहान ९ बजेदेखि दशरथ रंगशाला (आर्मी गेट)मा रहने खल्ती डेस्कमा गई आफ्नो डिजिटल टिकट देखाएर भौतिक टिकट लिन सकिने छ । खल्तीले जेनेरल टिकट काटेका प्रयोगकर्तालाई मेसेज पठाउँदै टिकट यथावत् रहेको सूचना दिएको छ । भीआईपी टिकटको रकम भने २४ घण्टाभित्र ग्राहकको वालेटमा रिफन्ड हुने खल्तीका प्रतिनिधिले जानकारी दिएका छन् ।

एन्फाका अनुसार फाइनल खेलका लागि जम्मा ११ हजार टिकट बिक्री गरिनेछ । तीमध्ये १० हजार साधारण प्याराफिट र एक हजार भीआईपी प्याराफिटका टिकट रहनेछन् । हालसम्म साधारणतर्फका पाँच हजारभन्दा बढी टिकट बुक भइसकेको बताइएको छ ।

भौतिक टिकट जावलाखेलस्थित जावलाखेल फुटबल खेलमैदान र भद्रकालीस्थित नेपाल आर्मीको गेटमा रहेको काउन्टरबाट खरिद गर्न सकिनेछ ।

एन्फाका अनुसार एक व्यक्तिलाई अधिकतम दुई भीआईपी र पाँच साधारण टिकट बिक्री गरिनेछ ।

नेपाल र बङ्गलादेशबीच हुने फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार साँझ ६ः३० देखि सुरु हुनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८१ ८:३५