डीगोले ल्यायो विश्वकप ‘मोबाइल पास’: सबै खेल हेर्न ५४९ रुपैयाँ तिरे पुग्ने, नेपाली कमेन्ट्रीको पनि सुविधा
जेठ २६, २०८३ १४:४१
काठमाडौं । फिफा विश्वकप २०२६ को पूर्वसन्ध्यामा डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डीगो’ ले फुटबल प्रेमीहरूका लागि ‘मोबाइल पास’ सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत दर्शकले ५४९ रुपैयाँमै विश्वकपका सबै १०४ वटा खेल आफ्नो मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो पास डीगो एपमार्फत खरिद गर्न सकिन्छ । पास खरिद गरेपछि प्रयोगकर्ताले विश्वकपका सबै खेल नेपाली वा अंग्रेजी कमेन्ट्रीसहित हेर्न पाउनेछन् । खेलहरू १०८० पिक्सेलको फुल एचडी क्वालिटीमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपाली दर्शकलाई सहज र उत्कृष्ट अनुभव प्रदान गर्न यस पटक विशेष रूपमा नेपाली कमेन्ट्रीको व्यवस्था गरिएको कम्पनीको दाबी छ । प्रयोगकर्ताले आफ्नो रुचिअनुसार नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषाको कमेन्ट्री रोज्न सक्नेछन् । डीगो एपभित्र गएर मोबाइल पास छनोट गरी केही क्लिकमै यो सेवा सक्रिय गर्न सकिने उल्लेख छ ।
डीगोका प्रवक्ताले नेपाली दर्शकलाई सुरक्षित र आधिकारिक माध्यमबाट मात्र विश्वकप हेर्न आग्रह गरेका छन् । उनले भने, “अनलाइनमा देखिने ‘फ्रि स्ट्रिमिङ’ वा शंकास्पद एपहरू प्रयोग गर्दा व्यक्तिगत विवरण र बैंकिङ जानकारी जोखिममा पर्न सक्छ । त्यसैले विश्वकपको प्रत्यक्ष प्रसारण सुरक्षित रूपमा हेर्न डीगोको आधिकारिक एप नै प्रयोग गर्न हामी अनुरोध गर्दछौँ ।”
पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ १५:१५
