काठमाडौं । विश्वभर टिकटकको लोकप्रियता बढ्दै जाँदा यसको अभिभावक कम्पनी बाइटडान्सका सह-संस्थापक झाङ यिमिङ चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हरुन रिसर्च इन्स्टिच्युटले हालै प्रकाशित गरेको धनी व्यक्तिहरूको सूची अनुसार झाङले पहिलो पटक यो उपलब्धि हासिल गरेका हुन् ।
उनी 'हरुन चाइना रिच लिस्ट' सुरु भएको २६ वर्षयता चीनको सबैभन्दा धनी व्यक्ति बन्ने १८औं व्यक्ति बनेका छन् । अहिले उनको कुल सम्पत्ति ४९.३ अर्ब डलर पुगेको छ । जुन सन् २०२३ को तुलनामा ४३ प्रतिशतले बढी भएको बताइएको छ ।
फोर्ब्सको पछिल्लो सूची अनुसार उनले अलिबाबाका संस्थापक ज्याक मा र टेनसेन्टका अध्यक्ष पोनी मा जस्ता पुराना चर्चित व्यवसायीहरूलाई उछिनेका छन् ।
४१ वर्षीय यिमिङले सन् २०२१ मा कम्पनीको कार्यभारबाट राजीनामा दिए पनि त्यहाँ अझै २० प्रतिशत शेयर रहेको छ ।
अमेरिका सहितका केही देशमा दबाबको सामना गर्दागर्दै पनि बाइटडान्सले गत वर्षको तुलनामा यस वर्ष ६० प्रतिशतले आफ्नो मुनाफा भएको बढाएको छ । यसले यिमिङको व्यक्तिगत सम्पत्ति बढाउन सहयोग गरेको हो ।
झाङले सन् २०१२ मा बाइटडान्स स्थापना गरेका थिए, जसको मुख्य उत्पादन टिकटक बनेको छ । चीनमा डोइन (Douyin) नामबाट परिचित यो एपले विश्वभर आफ्नो छुट्टै पहिचान बनाएको छ ।