काठमाडौं । एन्ड्रोइड फोनमा अब गुगल मेसेजमार्फत दुवै सिमबाट आरसीएस मेसेज पठाउन सकिने भएको छ । गुगलले विश्वभर आफ्ना प्रयोगकर्तालाई यो सुविधा उपलब्ध गराउन लागेको हो ।
आरसीएस अर्थात् रिच कम्युनिकेसन मेसेज भनेको इन्टरनेटको सहायताले नम्बरमा पठाइने मेसेज हो । यसअघि एउटा सिमबाट मात्र आरसीएस मेसेज पठाउन सकिन्थ्यो ।
यस वर्ष गुगलले दुवै सिममा आरसीएस मेसेज सपोर्ट गर्ने सुविधा उपलब्ध गराउन थालेको छ । हाल यो सुविधा बेटा भर्सनमा उपलब्ध छ ।
अहिले गुगल मेसेजमा एउटा फोन नम्बरमा मात्र आरसीएस एक्टिभ गर्न सकिन्छ । डुअल आरसीएस फिचर उपलब्ध भइसकेपछि जुनसुकै सिमबाट आरसीएस मेसेज पठाउन र पाउन सकिन्छ, अर्थात् दुवै सिममा एकसाथ आरसीएस सेवा एक्टिभ हुन्छ ।
आरसीएस एक्टिभ गर्नका लागि सबैभन्दा पहिले फोनमा गुगल मेसेज एप इन्स्टल गर्नुहोस् । त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइल आइकनमा ट्याप गरी एपको सेटिङमा जानुहोस् । त्यसपछि मेसेज सेटिङमा जानुहोस् र ‘जेनेरल’ अप्सन छान्नुहोस् ।
त्यसपछि ‘आरसीएस च्याट’को अप्सनमा जानुहोस् र आफ्नो नम्बर भेरिफाई गर्नुहोस् । यसपछि तपाईंको नम्बरभन्दा तल ‘कनेक्टेड’ लेखिएको देखिन्छ र तपाईंको डिभाइसमा आरसीएस च्याट सुरु हुन्छ ।
दुवै सिममा आरसीएस मेसेज सपोर्ट हुने फिचर सामसङ र केही अन्य एन्ड्रोइड फोनमा उपलब्ध भएको बताइएको छ । भौतिक र ईसिम दुवैमा यो सेवा प्रयोग गर्न सकिन्छ ।