close

युट्युबर मिस्टर बिस्ट भारत आउँदै, चकलेट ब्रान्ड सार्वजनिक गर्ने

टेकपाना टेकपाना

कात्तिक २०, २०८१ १४:४७

युट्युबर मिस्टर बिस्ट भारत आउँदै, चकलेट ब्रान्ड सार्वजनिक गर्ने

काठमाडौं । सबैभन्दा बढी सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्ट भारत आउने भएका छन् । मङ्गलबार उनले सामाजिक सञ्जालमा पोस्ट राख्दै आफू १० नोभेम्बरमा भारत आउने जानकारी दिएका हुन् । 

यसअघि भारतका युट्युबर क्यारिमिनाटीले मिस्टर बिस्टसहित अन्य भारतीय युट्युबरसँग सहकार्य गरेर प्यारोडी भिडिओ बनाएका थिए । सो भिडिओमा क्यारिमिनाटी नक्कली मिस्टर बिस्ट (मिस्टर लिस्ट)का रूपमा देखिएका थिए । अन्तिममा भने मिस्टर बिस्ट नै सो भिडिओमा देखिएका थिए ।

मिस्टर बिस्टले सो भिडिओमा एक करोड लाइक आए आफू भारत जाने बताएका थिए । हालसम्म उक्त भिडिओमा छ करोड बढी भ्युज आएको छ भने ८२ लाख बढी लाइक आएको छ । 

मिस्टर बिस्टले सामाजिक सञ्जालमा राखेको सानो क्लिपमा सोही प्रसङ्ग उठाउँदै आफू भारत आउन लागेको जानकारी दिएका हुन् । उनीसँगै युट्युबर केएसआई, आईशो स्पिड, लोगन पल भारत आउनेछन् ।

त्यसक्रममा उनले भारतमा आफ्नो चकलेट ब्रान्ड ‘फिस्टेबल’ सार्वजनिक गर्ने बताइएको छ । त्यसबाहेक त्यही समयमा भारतीय युट्युबहरूले प्राइम ओटीटीसँग सहकार्यको घोषणा गर्ने समेत बताइएको छ । 

मिस्टर बिस्टले आफ्नो चकलेट ब्रान्ड जिओ वर्ल्ड ड्राइभ मल मुम्बईमा सार्वजनिक गर्ने भनिएको छ । यसअघि मिस्टर बिस्टले उक्त ब्रान्ड अन्य विभिन्न देशमा सार्वजनिक गरिसकेका छन् । उपभोक्ताका हिसाबले सबैभन्दा ठूलो बजार मानिने भारतमा आफ्नो प्रभुत्व जमाउन मिस्टर बिस्टले सहकर्मी युट्युबरको सहायता लिएका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८१ १४:५९