प्रधानमन्त्री बालेन र उनको परिवार विरुद्ध अश्लील सामग्री बनाएका युट्युबर विरुद्ध मुद्दा दायर
असार २२, २०८३ १९:२१
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको परिवारलाई लक्षित गर्दै गालीगलौज र अश्लील सामग्री प्रसारण गरेको आरोपमा युट्युबर रोशन पोखरेल विरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । २६ चैतमा पक्राउ परेका उनी विरुद्ध केही दिन अघि पाँचथर थिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको हो ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ दोबाटे बस्ने २४ वर्षीय पोखरेल विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पाँचथरले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अभियोग-पत्र दायर गरेको छ ।
प्रहरी प्रतिवेदन अनुसार, सामाजिक सञ्जालहरूको निगरानी गर्ने क्रममा रोशन पोखरेलले आफ्नो Hades Junglee नामक फेसबुक आईडी, @hadesjunglee र @_hadesjunglee नामक टिकटक आईडी, इन्स्टाग्राम र Hades नामक युट्युब च्यानलमार्फत विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई लक्षित गरी अश्लील, अपमानजनक र अमर्यादित शब्दहरू प्रयोग गरी भिडिओ तथा स्टाटस पोस्ट गर्ने गरेको पाइएको थियो ।
उनले प्रधानमन्त्री बालेन र उनको परिवारलाई समेत लक्षित गरी मान-सम्मान र प्रतिष्ठामा गम्भीर आँच आउने सामग्रीहरू सम्प्रेषण गरेका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिनेश तिम्सिना समेतको प्रहरी प्रतिवेदनका आधारमा यो मुद्दाको अनुसन्धान प्रक्रिया अगाडि बढेको हो ।
बयानमा पोखरेलको स्वीकारोक्ति
अनुसन्धानका क्रममा अभियुक्त पोखरेलले आफ्नो कसुर पूर्ण रूपमा स्वीकार गरेका छन् । उनले बयानका क्रममा आफूले Hades Junglee नामक फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युब च्यानल चलाउने गरेको र ती प्लेटफर्महरूमा पोस्ट गरिएका सामग्रीहरूमा लाइक र कमेन्ट अर्थात् इङ्गेजमेन्ट बढाउनका लागि प्रधानमन्त्री बालेनलाई रोमन अङ्ग्रेजीमा अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको स्वीकार गरेका छन् ।
उनले अन्य नेताहरूलाई पनि व्यङ्ग्य र गाली गरेर भिडिओ बनाएको बताएका छन् । यस्ता अश्लील सामग्री पोस्ट गर्नु कानुन विपरीत हो भन्ने थाहा हुँदाहुँदै पनि आफूले आवेशमा आएर त्यसो गरेको र कानुन बमोजिम कारबाही भोग्न तयार रहेको उनले बयानमा उल्लेख गरेका छन् ।
मोबाइल र सिमकार्ड बरामद, फरेन्सिक ल्याब पठाइयो
प्रहरीले पोखरेलको साथबाट खानतलासीका क्रममा उनको पाइन्टको गोजीबाट एउटा साओमी (Xiaomi 14 T) मोडेलको मोबाइल बरामद गरेको छ । बरामद गरिएको मोबाइल र सिमकार्डलाई परीक्षणका लागि काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ ।
सरकारी वकिल कार्यालय पाँचथरका सहायक जिल्ला न्यायाधिवक्ता अवसर मादेनले दायर गरेको अभियोग-पत्रमा पोखरेललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरिएको छ । उक्त दफा अनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
यसका साथै, अपराधमा प्रयोग गरिएको साओमी १४-टी मोबाइल फोनलाई विद्युतीय कारोबार ऐनको दफा ५६ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत गर्न माग गरिएको छ ।
त्यस्तै, पीडितको प्रतिष्ठामा पुगेको आँच र सामाजिक नोक्सानीलाई विचार गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ५८ र ७६ तथा पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा जम्मा हुने गरी उपयुक्त क्षतिपूर्ति भराउन समेत अभियोग-पत्रमा मागदाबी लिइएको छ ।
पछिल्लो अध्यावधिक: असार २२, २०८३ १९:२६
