close

इन्भर्टरमा समस्या आएपछि टेस्लाले छैटौं पटक फिर्ता बोलायो साइबर ट्रक

टेकपाना टेकपाना

कात्तिक ३०, २०८१ १३:२०

इन्भर्टरमा समस्या आएपछि टेस्लाले छैटौं पटक फिर्ता बोलायो साइबर ट्रक

काठमाडौं । साइबर ट्रक सार्वजनिक भएको एक वर्ष नबित्दै टेस्लाले बिक्री गरिसकेका गाडी छैटौं पटक फिर्ता बोलाएको छ । गाडीको इन्भर्टरमा समस्या देखिएपछि अर्बपति उद्यमी एलन मस्कको कम्पनी टेस्लाले गाडी फिर्ता बोलाएको हो । 

द भर्जका अनुसार यो पटक कम्पनीले कम्तिमा पनि २४३१ ओटा साइबर ट्रक कम्पनीमा फिर्ता गर्न सूचना दिएको छ । फिर्ता हुनेमा ६ नोभेम्बर २०२३ देखि ३० जुलाई २०२४ सम्म बिक्री भएका गाडीहरू रहेका छन् । ड

यसको मुख्य कारण ‘मेटल-अक्साइड सेमिकन्डक्टर फिल्ड-इफेक्ट ट्रान्जिस्टर’मा देखिएको समस्या हो । यो त्यस्तो समस्या हो जसले गर्दा गाडी चल्नका लागि आवश्यक प्रोपल्सन (ऊर्जा) गुम्न पुग्छ ।

गाडीको प्रोपल्सन (गति नियन्त्रण गर्ने शक्ति) अचानक फेल हुँदा कुनै वार्निङ नआउने भए पनि सेन्ट्रल टचस्क्रिनमा नोटिफिकेसन आउँछ । त्यसपछि चालक गाडीलाई छेउमा लगेर रोक्न सक्छन् । टेस्लाले प्रभावित साइबर ट्रकका मालिकलाई यस समस्याबारे जानकारी पठाउन थालेको छ । 

कम्पनीले बिग्रिएका गाडीको इनभर्टर ९ डिसेम्बरपछि बदल्ने योजना बनाएको छ । कम्पनीले बिग्रिएको पार्टलाई नयाँ तथा राम्रा पार्ट्ससहितको इनभर्टरले बदल्ने जनाएको छ । टेस्लाका अनुसार यो समस्यासँग सम्बन्धित गुनासो आइरहेका छन् । यद्यपि अहिलेसम्म यही समस्याका कारण कुनै दुर्घटना वा चोटपटक भएको नदेखिएको कम्पनीले जनाएको छ । 

गत वर्ष टेस्ला साइबर ट्रक सार्वजनिक भएको थियो । सार्वजनिक भएको केही समयमै यस गाडीको डिजाइनले बढी चर्चा पायो । बजारमा राम्रो चर्चा पाएपछि गाडीको बिक्री सङ्ख्या पनि ह्वात्तै बढेको थियो । 

यसअघि गाडीमा पछाडिपट्टिको क्यामेराले स्क्रिनमा दृश्य ढिलो देखाउने, वाइपर ठीकसँग नचल्ने, गाडीको बाहिरी भाग फितलो हुने, एक्सेलेटर अड्किने, वार्निङ लाइटको अक्षर सानो हुने लगायतका समस्या देखिएका थिए । यी समस्या देखिएका गाडीलाई कम्पनीले फिर्ता बोलाएको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८१ १३:२०