close

राइड शेयरिङ एपले आफूखुसी भाडा उठाएपछि नियमन गर्न तम्सियो सरकार

टेकपाना टेकपाना

मंसिर २, २०८१ १४:५७

राइड शेयरिङ एपले आफूखुसी भाडा उठाएपछि नियमन गर्न तम्सियो सरकार

काठमाडौं । बागमती प्रदेश सरकारले राइड शेयरिङ कम्पनीहरूको नियमनका लागि कार्यविधि ल्याउने तयारी गरेको छ । राइड शेयरिङ एपले मनोमानी ढंगले भाडा असुलेको गुनासो बढेपछि कार्यविधि कार्यान्वयनमा ल्याउन  गृहकार्य गरिरहेको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेम भक्त महर्जनले जानकारी दिए । 

“पछिल्लो समय राइड शेयरिङ एपहरूले अनियमित तरिकामा भाडा उठाउने गुनासा आएका छन् । यस विषयमा बागमती प्रदेश सरकारले नियमनका लागि कार्यविधि ल्याउने प्रक्रिया अघि बढाएको छ," उनले भने । 

नेपालमा राइड शेयरिङ प्लेटफर्मले लिने भाडा नतोकिएकाले समस्या आएको उनले सुनाए । त्यस्तै कतिपय एप नेपालमा दर्ता नै नभई सञ्चालनमा आएको र त्यस्ता एपमार्फत अनधिकृत रूपमा नेपालबाट विदेशमा पैसा गइरहेको पनि उनले उल्लेख गरे ।

यातायात मन्त्रालयका सचिव बलराम निरौला भने, “राइड शेयरिङ सम्बन्धी बनेको कार्यविधि क्याबिनेटबाट पास भइसकेपछि हामी नियमनमा जान सक्छौं । अहिले कहाँ, कति र कसरी सञ्चालन भइरहेका छन् भन्ने पनि हामीलाई थाहा छैन ।” 

कार्यविधिमा राइड शेयरिङ प्लेटफर्मले कति भाडा लिने भन्ने विषय स्पष्ट व्यवस्था गरेकाले त्यसपछि नियमन गर्न सकिने उनले सुनाए । अहिले ठगीमा परेको भनेर उजुरी दिने बाहेक अरू विकल्प नभएको उनले सुनाए ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०८१ १५:२९