काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो इन्टरनेटका जल्दाबल्दा व्यक्ति हुन् । सामाजिक सञ्जालमा एक अर्ब बढी फलोअर हुने उनी विश्वकै एक मात्र व्यक्ति हुन् ।
फेसबुक, इन्स्टाग्राम र एक्समा राज गरिरहेका रोनाल्डोले आफ्नो युट्युब च्यानल घोषणा गर्नासाथ त्यसले चर्चा पायो । सब्स्क्राइबरका सन्दर्भमा अधिकांश युट्युब रेकर्ड रोनाल्डोको पोल्टोमा छन् । अहिले उनको च्यानलमा छ करोड ७१ लाख बढी सब्स्क्राइबर छन् । तर, भ्युजको सन्दर्भमा उनले कुनै रेकर्ड राख्न सकेका छैनन् ।
अहिले भने रोनान्डोले अब आउने नयाँ गेस्ट (अतिथि)ले ‘इन्टरनेट नै तोड्ने’ दाबी गरेका छन् । आइतबार अपलोड भएको भिडिओमा रोनाल्डले आफ्नो नयाँ कार्यक्रमका अतिथिका कारण इन्टरनेट नै तोडिने दाबी गरेका हुन् ।
भिडिओमा रोनाल्डोका साथी रियो फर्डिनान्डले ‘अबको भिडिओमा कोसँग सहकार्य गर्ने’ भनेर सोध्छन् । तर, रोनाल्डोले ‘यो गोप्य भएकाले भन्न मिल्दैन’ भन्ने आशयको जवाफ दिन्छन् ।
पुनः फर्डिनान्डले ‘ती व्यक्ति तिमीभन्दा चर्चित छन्’ भनेर सोध्छन् । रोनाल्डोले ‘हो’ भन्छन् । खेलाडी हो कि गायक/गायिका भनेर सोध्दा उनी मुस्कुराउँदै भन्छन्, ‘‘हामी इन्टरनेट तोड्न गइरहेका छौं ।’’
यो कुराले फ्यानहरूमा कौतुहलता थपेको छ । सबैभन्दा मुख्य चासो भने रोनाल्डोका ‘टप सिक्रेट’ पाहुनाले पाएका छन् । ती पाहुना लिओनल मेस्सी बाहेक अरु हुनै नसक्ने धेरैको अनुमान छ । सो भिडिओको कमेन्टमा पनि अधिकांशले मेस्सी नै पाहुना भएर आउने लख काटेका छन् ।
यसअघि फेसन ब्रान्ड लुई भितनले रोनाल्डो र मेस्सीलाई फिचर गरी एक फोटो सार्वजनिक गरेको थियो । उक्त फोटो रोनाल्डो र मेस्सी दुवैले सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । रोनाल्डोले शेयर गरेको फोटोले इन्स्टामा चार करोड १० लाख बढी लाइक पाएको छ । यो सबैभन्दा बढी लाइक पाउने इन्स्टाग्राम पोस्टको शीर्ष चौथो स्थानमा छ ।मेस्सीले राखेको सोही फोटोले तीन करोड २४ लाख बढी लाइक पाएको छ । यो सबैभन्दा बढी लाइक पाउने ११ औं इन्स्टाग्राम पोस्ट हो ।
युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर हुने व्यक्ति मिस्टर बिस्ट हुन् । अहिले युट्युबमा मिस्टर बिस्टलाई पछि पार्न सक्ने व्यक्तिका रूपमा रोनाल्डोलाई हेरिएको छ । कतिपयले ती ‘टप सिक्रेट’ पाहुना मिस्टर बिस्ट हुनसक्ने अड्कल काटेका छन् ।