काठमाडौं । फिनटेक इन्टरनेसनल प्रालिले प्रिपेड कार्डमार्फत सार्वजनिक यातायातमा भाडा सङ्कलन गर्ने नयाँ डिजिटल प्रणाली सुरु गरेको छ । मङ्गलबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले यस्तो प्रणाली सुरु गरेको हो ।
सार्वजनिक यातायातमा नगद भुक्तानी गर्नुपर्ने यात्रुको बाध्यता हटाउन सहज र प्रभावकारी भुक्तानी प्रक्रिया ल्याएको कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले उक्त प्रविधिको उद्घाटन गरे । सो अवसरमा बोल्दै मिश्रले नेपालको वित्तीय र सार्वजनिक यातायात क्षेत्रमा डिजिटल रूपान्तरणको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गरे ।
“सार्वजनिक यातायात धेरै नागरिकका लागि जीवनरेखा हो र यसको भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्नु भनेको सहजता, पारदर्शिता र जवाफदेहिता तर्फको एक कदम हो,” मिश्रले भने । फिनटेक इन्टरनेसनलको यो पहलले सरकारको नगद निर्भरता घटाउने र सबै क्षेत्रमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्नेमा उनले विश्वास व्यक्त गरे ।
फिनटेक इन्टरनेसनलका सीईओ अमित श्रेष्ठका अनुसार सुरुवाती चरणमा रिद्धीसिद्धी यातायात र मत्स्य राजधानी यातायात प्रालिबाट यो कार्ड प्रणाली सुरुवात गरिएको छ । भविष्यमा १७ ओटा समितिका करिब एक हजार बसहरूमा यो प्रणाली लागू गर्ने योजना रहेको उनले सुनाए ।
बागमती प्रदेश सरकारले विद्युतीय भाडा भुक्तानी नियमावली, २०७८ जारी गरिसकेको र सङ्घीय सरकारको तर्फबाट सङ्घीय राजधानी यातायात प्राधिकरण गठन भई कामहरू अगाडि बढेकाले कार्डमार्फत भुक्तानी गर्ने सेवा दिगो र प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।