काठमाडौं । भारतस्थित बेंगलोरुको डा. राजकुमार रोडमा मंगलबार साँझ एक विद्युतीय सवारी (ईभी) शोरुममा ठूलो आगो लाग्दा २० वर्षीया महिलाको मृत्यु भएको छ भने ४५ भन्दा बढी विद्युतीय स्कुटर जलेर नष्ट भएका छन् ।
मृत्यु हुनेमा स्टोरमा बिक्री अधिकृतका रूपमा काम गर्ने प्रिया नामकी कर्मचारी रहेकी छन् । आगोको ज्वालाभित्रै फसेर उनी बाहिर निस्कन नसकेको बताइएको छ । अन्य पाँच कर्मचारी भने सुरक्षित स्थानमा भाग्न सफल भएका थिए ।
भारतीय समय अनुसार साँझको ५ः३६ बजे सुरु भएको आगो शोरुमको इलेक्ट्रिक बाइक सेक्सनबाट सुरु भएको थियो । स्कुटरको ब्याट्रीमा सर्ट सर्किटको कारण आगो लागेको अनुमान गरिएको छ ।
शोरुममा धेरै सवारी साधन विस्फोट हुँदा केही समयसम्म स्थिति अस्तव्यस्त बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागी सुरु भएको एक मिनेटभित्रै तीन दमकल गाडी घटनास्थलमा पुगेको र केही समयमा आगो नियन्त्रणमा आएको बताइएको छ ।