काठमाडौं । माइक्रोसफ्टले विश्वकै ठूलो ह्याकिङ इभेन्ट ‘जिरो डे क्वेस्ट’ सुरु गरेको छ । ४० लाख डलर (५४ करोड रुपैयाँ बढी) राशिको ह्याकिङ प्रतिस्पर्धामा साइबर सुरक्षामा काम गर्दै आएका व्यक्तिले माइक्रोसफ्टका विभिन्न प्लेटफर्मका सुरक्षा कमजोरी पत्ता लगाउन सक्नेछन् ।
१९ नोभेम्बरदेखि सुरु भएको यो कार्यक्रम १९ जनवरी २०२५ सम्म चल्नेछ । माइक्रोसफ्ट क्लाउड र एआई प्रोडक्ट्स केन्द्रित प्रतिस्पर्धामा योग्य हुने अनुसन्धानकर्ताले सन् २०२५ मा वाशिङटनको रेडमन्डस्थित माइक्रोसफ्ट मुख्यालयमा हुने प्रत्यक्ष ह्याकिङ इभेन्टमा सहभागिता जनाउन पाउनेछन् ।
जिरो डे क्वेस्टले सुरक्षा समुदायका सदस्यहरूलाई माइक्रोसफ्टका इन्जिनियर र अनुसन्धानकर्ताहरूसँग प्रत्यक्ष काम गर्ने अवसर दिने बताइएको छ ।
सुरक्षाको पारदर्शिता सुनिश्चित गर्न फेला परेका कमजोरीहरू समाधान भएपछि सो विवरण सार्वजनिक गरिने माइक्रोसफ्टले जनाएको छ । यो विवरण साझा गरी सम्पूर्ण सुरक्षा क्षेत्रलाई शिक्षित गर्ने कम्पनीको योजना छ । गम्भीर कमजोरीहरूलाई ‘कमन भल्नरेबिलिटिज एन्ड एक्स्पोजर्स (CVE)’ कार्यक्रममार्फत सार्वजनिक गरिनेछ ।