काठमाडौं । प्रेस काउन्सिल नेपालले भ्रमपूर्ण सामग्री सम्प्रेषण गरेको आरोपमा १० ओटा युट्युब च्यानलसहित सामाजिक सञ्जाल पेजहरूलाई कारबाही गरेको छ । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै काउन्सिलले १० युट्युब च्यानलसहित सामाजिक सञ्जालका विभिन्न पेजलाई कारबाही गरेको जानकारी दिएको हो ।
यसअन्तर्गत काउन्सिलको कारबाहीमा परेका युट्युब च्यानल र पेजमा नेपाल वन एचडी, मिसन टुडे, ऋणी एसोसिएसन, डेली न्युज एनपी, हाम्रो सन्देश रहेका छन् । त्यस्तै खालीपाना, सेवारो न्युज, मिडिया ताजा खबर, जी न्युज नेपाल, हट न्युज नेपालमाथि समेत काउन्सिलको कारबाहीमा परेका छन् ।
यी मध्ये चार ओटालाई तत्काल सामग्री हटाउन तथा प्रसारण स्थगन गर्न निर्देशन दिइएको भने ६ ओटालाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय काउन्सिलले कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सन्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको छ। सो कममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकताका साथ स्थान दिइ प्रकाशन/प्रसारण गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख छ ।