close

अनलाइन ठगसँग मिलेर केवाईसी भेरिफाई गरी दिएको भन्दै डिजिटल वालेट कम्पनीका ३ कर्मचारी पक्राउ

टेकपाना टेकपाना

मंसिर १०, २०८१ १९:४०

साङ्केतिक तस्विर साङ्केतिक तस्विर

काठमाडौं । अनलाइन ठगहरूसँग मिलेर डिजिटल वालेटमा केवाईसी भेरिफाई गरी दिएको आरोपमा एक कम्पनीका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई हाल तिलगङ्गा बस्ने २० वर्षीय शाहिल श्रेष्ठ, गोरखा घर भई हाल कलङ्की बस्ने २२ वर्षीय सविनकुमार कुमाल र रामेछाप घर भई हाल पशुपति बस्दै आएका २२ वर्षीय सुरेन्द्र बस्नेत रहेका छन् । 

वालेट कम्पनीले आफ्ना कर्मचारीले अवैध रूपमा अनलाइन ठगहरूको गिरोहसँग मिलेर विश्वासघात गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएको थियो । कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीका अनुसार ती कर्मचारीहरू आपराधिक गिरोहसँग मिलेर अवैध रूपमा केवाईसी भेरिफाई गर्ने कार्यमा संलग्न रहेको देखिएपछि नियन्त्रणमा लिइएको हो । 

“पक्राउ परेका यी तीनै जना वालेट कम्पनीमा केवाईसी भेरिफाई गर्ने काममा आबद्ध रहेछन्,” प्रहरी उपरीक्षक जीसीले भने, “उनीहरूले आपराधिक गिरोहसँग मिलेर डकुमेन्ट बिनै केवाईसी भेरिफाई गरी दिँदा रहेछन् ।”

यस्तो हुँदा अनलाइन ठगीका घटनामा अनुसन्धान गर्ने प्रहरी केवाईसीको तहसम्म पुगेर रोकिनु पर्ने अवस्था आयो । खासगरी अनलाइन ठगीमा कुन डिजिटल वालेट अकाउन्ट प्रयोग भएको छ, अनि त्यसमा कुन व्यक्तिको संलग्नता रहेको छ भन्ने पहिचान गर्न प्रहरीलाई सकस पर्ने अवस्था आयो । 

यस्तोमा वालेट कम्पनीले केवाईसी प्रमाणीकरणमा लापरवाही गरेको देखियो । यसरी सबै जिम्मा कम्पनीमाथि आउने भएपछि उक्त कम्पनीले आफ्नै कर्मचारी विरुद्ध उजुरी दिएको प्रहरी उपरीक्षक जीसीले बताए । 

प्रारम्भिक अनुसन्धानका क्रममा तीन जनाले विभिन्न समयमा ५५ ओटा डिजिटल वालेटको केवाईसी अनलाइन ठगसँग मिलेर भेरिफाई गराएको खुल्न आएको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

प्रहरी उपरीक्षक जीसीका अनुसार अब हुने थप अनुसन्धानबाट पक्राउ परेका तीनै जना कुन गिरोहसँग मिलेका थिए भन्ने विवरण बाहिर आउनेछ ।

 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८१ २२:५७