close

अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने

टेकपाना टेकपाना

मंसिर १६, २०८१ १४:१६

अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने

काठमाडौं । अब सहकारी संस्थाहरूको खाताबाट समेत हाम्रो पेमा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वालेट ‘हाम्रो पे’ बीच यसका लागि सम्झौता भएको हो ।

सम्झौता अनुसार हाम्रो पेका प्रयोगकर्ताले एम बैंकको सिस्टममा जोडिएका कुनै पनि सहकारीबाट रकम लोड गर्न सक्नेछन् । अर्कोतर्फ हाम्रो पेमार्फत सहकारीको खातामा सोझै पैसा पठाउन, क्यूआर भुक्तानी लगायतका विभिन्न सुविधा लिन सकिने छ ।

आफ्ना ग्राहक तथा प्रयोगकर्तालाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ दुई संस्थाबीच सहकार्य भएको हो । नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रोपात्रोले सञ्चालनमा ल्याएको डिजिटल वालेट ‘हाम्रो पे’ मा हाल पाँच लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

वालेट प्रयोग गर्नका लागि छुट्टै एप प्रयोग गर्नु नपर्ने सुविधा सहित कम्पनीले हाम्रो पेलाई हाम्रो पात्रो भित्रै उपलब्ध गराएको छ । एउटै एपमार्फत धेरै सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले यो व्यवस्था मिलाएको हो ।

त्यस्तै ‘एम बैंक’ सहकारी क्षेत्रलाइै प्रविधिमैत्री बनाउँदै डिजिटल कारोबारको सेवा उपलब्ध गराउने आईटी कम्पनी हो । सहकारीको क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने र सेवा दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडि छ । यसको सिस्टममा हाल ५०० भन्दा बढी सहकारी जोडिएका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८१ १४:२९