close

पृथ्वीसँग सेल्फी खिच्ने रहर छ ? तपाईँको सपना यी युट्युबरले गरिदिने छन् पूरा

टेकपाना टेकपाना

मंसिर १८, २०८१ ९:१२

पृथ्वीसँग सेल्फी खिच्ने रहर छ ? तपाईँको सपना यी युट्युबरले गरिदिने छन् पूरा

काठमाडौं । सेल्फी पारखीलाई लक्षित गर्दै नासाका पूर्व इन्जिनियर तथा युट्युबर मार्क रोबरले अनौठो अफर ल्याएका छन् । गुगल र टी-मोबाइलसँगको सहकार्यमा उनले पृथ्वीसँग सेल्फी खिच्ने योजना ल्याएका हुन् ।

यसका लागि उनले स्याट गस (SAT GUS) नामको आफ्नै भू-उपग्रह (स्याटलाइट) प्रक्षेपण गर्ने छन् । रोबरका अनुसार प्रयोगकर्ताले यो सेवा पाउन सुरुमा आफ्नो सेल्फी खिच्नु पर्ने हुन्छ । त्यसपछि सो सेल्फी रोबरले प्रक्षेपण गर्ने भू-उपग्रहलाई पठाइन्छ ।

भू-उपग्रहले प्रयोगकर्ताको लोकेसन पत्ता लगाएर सो क्षेत्रमाथि पुगेपछि पृथ्वीलाई पृष्ठभूमिमा पार्ने गरी उक्त सेल्फीसहितको फोटो खिच्ने छ । यसक्रममा भू-उपग्रहले फोटो खिच्ने समय पनि निश्चित गरिन्छ । यो कुरा थाहा पाएका प्रयोगकर्ताले आफू पनि स्याटलाइटको फोटोमा देखिन बाहिर निस्कन सक्ने छन् । तर यो प्रक्रिया प्राविधिक रुपमा यति प्रभावकारी नहुने द भर्जले लेखेको छ ।

रोबरको यो भू-उपग्रह जनवरी २०२५ मा स्पेसएक्सको ट्रान्सपोर्टर १२ मिसनमार्फत प्रक्षेपण हुनेछ । फोटो खिच्न भू-उपग्रहमा दुई ओटा क्यामेरा र दुई ओटा गुगल पिक्सेल राखिने छ । त्यस्तै सौर्य ऊर्जा सङ्कलन गर्न सोलार सिस्टम पनि राखिने छ । भू-उपग्रह प्रक्षेपण भएको केही समयपछि यो सेवा उपलब्ध हुने छ। 

अहिलेसम्म यो सेवा निःशुल्क भनिए पनि केही सर्तहरू राखिएको बताइएको छ । यस अन्तर्गत भू-उपग्रहबाट सेल्फी खिच्न आवश्यक पर्ने कोड पाउन प्रयोगकर्ताले रोबरको क्रन्च ल्याब्स नामक इन्जिनियरिङ किटको सब्सक्रिप्सन लिनु पर्नेछ ।  

त्यस्तै टी-मोबाइलका ग्राहकहरूले टी-लाइफ एप मार्फत कोड प्राप्त गर्न सक्नेछन् भने गुगल पिक्सलका ग्राहकले पनि विशेष कोड पाउनेछन् । कोडहरू ३ डिसेम्बरदेखि स्पेसफाइल डट कममार्फत रिडिम गर्न सकिने बताइएको छ । तर आफ्नो सेल्फी अपलोड गरेपछि फोटो खिच्ने मिति र समय ट्र्याक गर्नका लागि भने प्रयोगकर्ताले ईमेलमार्फत जानकारी प्राप्त गर्नेछन् ।

पृथ्वीसँग भू-उपग्रहले कसरी सेल्फी खिच्छ भन्नेबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८१ ९:१२