ताइवानीलाई विश्वकप लाइभ देखाउने चीनको अफर, अप्रासाङ्गिक भन्दै ताइवानले गर्यो खारेज
असार ५, २०८३ ११:३२
काठमाडौं । ताइवान सरकारले आफ्ना फुटबल प्रशंसकहरूलाई विश्वकप हेर्न चिनियाँ वेबसाइट र डिजिटल प्लेटफर्महरू प्रयोग गर्न वा चीन भ्रमण गर्न बेइजिङले दिएको प्रस्तावलाई 'अप्रासङ्गिक' भन्दै त्यसको कडा आलोचना गरेको छ । ताइवानले विश्वकपका खेलहरू आफ्नै देशका सञ्चार माध्यमहरूमा सजिलै उपलब्ध रहेको स्पष्ट पार्दै चिनियाँ दाबीको खण्डन गरेको रोयटर्समा उल्लेख छ ।
चीनले ताइवानलाई आफ्नो अभिन्न अङ्ग मान्दै आएको छ र आफ्नो शासन स्वीकार गरे टापुको अवस्था अझ राम्रो हुने दाबी गर्दै विभिन्न प्रलोभनहरू दिने गर्दछ । यसै क्रममा, चीनको ताइवान मामिला कार्यालयले एक अज्ञात ताइवानी कलाकारले ताइवानमा विश्वकपको प्रसारण फेला पार्न नसकेको भनी गरेको गुनासोको जवाफ दिँदै आफूसँग सबै खेलहरू देखाउने अधिकार रहेको बताएको थियो ।
प्रवक्ता चेन बिन्हुआले पत्रकार सम्मेलनमार्फत ताइवानी नागरिकहरूलाई खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न मुख्य भूमि चीनका वेबसाइट, एप र अन्य प्लेटफर्महरू प्रयोग गर्न वा चीनमै आउन आमन्त्रण गरेका थिए । ताइवानको नीति निर्धारण गर्ने मेनल्यान्ड अफेयर्स काउन्सिलले सोही साँझ एक विज्ञप्ति जारी गर्दै चिनियाँ दाबी 'पूर्ण रूपमा असत्य' भएको बताएको छ ।
काउन्सिलले ताइवानी घरेलु सञ्चार माध्यमहरूसँग आधिकारिक प्रसारण अधिकार रहेको र उनीहरूले खेलहरू देखाइरहेको भन्दै प्रशंसकहरूलाई चिनियाँ एप वा वेबसाइट प्रयोग गर्नुपर्ने कुनै आवश्यकता नरहेको उल्लेख गरेको छ । "ताइवान मामिला कार्यालयले विश्वकप प्रसारण जस्तो विषयमा पनि टिप्पणी गर्नुले उनीहरू कति धेरै अप्रासङ्गिक मामिलाहरूमा चासो दिन्छन् भन्ने पुष्टि गर्छ," काउन्सिलले व्यङ्ग्य गरेको छ ।
विशेष कुरा के छ भने, यो विवाद चलिरहँदा सन् २०२६ को विश्वकपका लागि चीन र ताइवान दुवै छनोट हुन सकेका छैनन् । ताइवान सरकारले बेइजिङको सार्वभौमसत्ताको दाबीलाई अस्वीकार गर्दै आएको छ र टापुका जनताले मात्र आफ्नो भविष्यको निर्णय गर्न सक्ने अडान राख्दै आएको छ ।
आफ्नो टिम छनोट नभए पनि ताइवान सरकारले हाल आफ्ना दुई कूटनीतिक सहयोगी राष्ट्रहरू पाराग्वे र हाइटीलाई समर्थन गरिरहेको छ । ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम राख्ने विश्वका १२ देशहरूमध्ये यी दुई देश पनि पर्दछन् । ताइवानका विदेशमन्त्री लिन चिया-लुङले सामाजिक सञ्जालमा यी दुवै देशका झण्डाहरू फहराउँदै आफ्ना सहयोगीहरूलाई फुटबलको विश्वव्यापी मञ्चमा देख्न पाउँदा खुसी व्यक्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार ५, २०८३ १२:२६
