close

शब्दकै आधारमा वास्तविक जस्तै भिडिओ तयार पारिदिने गुगलको एआई टुल सार्वजनिक

टेकपाना टेकपाना

मंसिर २०, २०८१ १४:५९

शब्दकै आधारमा वास्तविक जस्तै भिडिओ तयार पारिदिने गुगलको एआई टुल सार्वजनिक

काठमाडौं । गुगलले आफ्नो क्लाउड प्लेटफर्म भर्टेक्स एआईमार्फत दुई नयाँ जेनेरेटिभ एआई मोडेल सार्वजनिक गरेको छ । उच्च गुणस्तरका फोटो/भिडिओ उत्पादन गर्नेगरी बुधबार गुगलले ‘भिओ’ (Veo) र ‘इमेजन थ्री’ (imagen 3) नामक टुल सार्वजनिक गरेको हो ।

सार्वजनिक भएका यी टुलमध्ये ‘भिओ’ गुगलको पहिलो भिडिओ जेनेरेटिभ टुल हो । यो टुलको बारेमा गुगलले गत मे महिनामा घोषणा गरेको थियो । गुगल डिपमाइन्डद्वारा विकास गरिएको यस टुलले उच्च गुणस्तरका जीवन्त र यथार्थपरक भिडिओहरू उत्पादन गर्न सक्ने बताइएको छ । यसका लागि प्रयोगकर्ताले केवल टेक्स्ट प्रम्प्ट वा फोटो अपलोड गरे पुग्छ ।

त्यस्तै, ‘इमेजन थ्री’ गुगलको नयाँ इमेज जेनेरेसन मोडेल हो । यसले पनि लिखित निर्देशन (प्रम्प्ट)का आधारमा यथार्थपरक फोटो तयार पार्न सक्ने बताइएको छ । यसका साथै, यो मोडेलले फोटोमा कुनै भाग थप्ने, हटाउने लगायतका सम्पादन पनि गर्न सक्छ ।

गुगलका अनुसार, यी दुवै टुलले तयार पार्ने भिडिओ र फोटोहरूमा बाहिरबाट नदेखिने डिजिटल वाटरमार्क हुनेछ । यसले गलत सूचना फैलाउन रोक्ने बताइएको छ । यद्यपि, अहिलेलाई यी टुलहरू नि:शुल्क उपलब्ध हुने छैनन् । यी मोडेल चलाउन गुगलको भर्टेक्स एआईको सब्सक्रिप्सन लिनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८१ १६:४६