काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को लाइभ युट्युबमा हेर्ने दर्शकहरू अलमलमा परेका छन् । च्यानल सब्सक्राइब नगरेका दर्शकलाई बिहीबारका दुवै खेलको लाइभ भेट्न सकस परेको हो ।
आधिकारिक च्यानलको लाइभ नभेटेका दर्शकहरू स्कोर लाइभ र पाइरेटेड (अनधिकृत तथा चोरी गरी) लाइभ देखाउने च्यानलहरूमा तितरबितर देखिन्छन् । यसले गर्दा सामान्यतया एनपीएलका खेलहरू चलिरहँदा एक लाखभन्दा बढी देखिने लाइभ भ्युज आधा भन्दा बढीले घटेको छ ।
यतिसम्म कि लाइभ देखाउने एक्सन स्पोर्ट्सको च्यानल सब्सक्राइब नगरेका प्रयोगकर्ताले युट्युबमा एनपीएल (NPL), एनपीएल लाइभ (NPL Live) जस्ता सर्च गर्दा समेत आज चलिरहेको खेल नभेटिने अवस्था छ ।
जसमा अन्य अनधिकृत च्यानल तथा ती च्यानलहरूबाट हुने लाइभ र एक्सन स्पोर्ट्सकै यसअघि लाइभ गरिएका भिडिओहरू रिजल्टमा देखिने गर्छन् । तर प्रयोगकर्ताले च्यानल सब्सक्राइब गरेको अवस्थामा भने होम पेजमै आजको लाइभ देखिने अवस्था छ ।
यस विषयमा एक्सन स्पोर्ट्स च्यानल सञ्चालन गरिरहेको डिशहोमका अधिकारीलाई सम्पर्क गर्दा लाइभ सब्सक्राइबरमा मात्रै सीमित नगरिएको जवाफ दिएका छन् । यो समस्या युट्युबकै हो अथवा च्यानलको सेटिङको गडबडीका कारण भएको हो भन्ने स्पष्ट भइसकेको छैन ।