close

पब्जी मोबाइल नेसनल च्याम्पियनशिपको फाइनल शुक्रबारदेखि, १६ टोलीबिच भिडन्त हुँदै

टेकपाना टेकपाना

चैत २५, २०८२ १५:५५

पब्जी मोबाइल नेसनल च्याम्पियनशिपको फाइनल शुक्रबारदेखि, १६ टोलीबिच भिडन्त हुँदै

काठमाडौँ । पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) नेपाल स्प्रिङ २०२६ को फाइनल चरणका खेल आउँदो शुक्रबारदेखि सुरु हुने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन र पब्जी मोबाइलको सहकार्यमा भक्तपुरको मध्यपुर थिमिस्थित इन्फिनिटी लाउन्जमा दुई दिनसम्म यो प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा रेडबुल र इन्फिनिक्स सह-प्रायोजकका रूपमा रहेका छन् । नेपालमा तीव्र गतिमा विस्तार भइरहेको ई-स्पोर्ट्स क्षेत्रलाई थप प्रवर्द्धन र सुदृढ बनाउने उद्देश्यले यो च्याम्पियनसिप आयोजना गरिएको आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा सहभागी हुन देशभरबाट करिब १६ सय टोलीले आवेदन दिएका थिए । विभिन्न छनौट चरणहरू पार गर्दै उत्कृष्ट प्रदर्शन गरेका शीर्ष १६ टोलीहरूले मात्र फाइनलको यात्रा तय गरेका हुन् ।

आयोजकका अनुसार शुक्रबार र शनिबार गरी दुई दिनमा प्रतिदिन ६ खेलका दरले कुल १२ खेल हुनेछन् । सबै खेलमा प्राप्त गरेको कुल अंकका आधारमा विजेता टोलीको घोषणा गरिनेछ । फाइनल खेलहरू प्रत्येक दिन दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछन् । खेलहरू प्रत्यक्ष रूपमा भौतिक उपस्थितिमा वा अनलाइन लाइभ स्ट्रिमिङमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ । 

नेपालमा पब्जी मोबाइल खेल्नेको सङ्ख्या करिब ३० लाख रहेको अनुमान छ । यसैलाई मध्यनजर गर्दै यो फिनालेलाई करिब १० लाख दर्शकले अनलाइन वा प्रत्यक्ष रूपमा हेर्ने अपेक्षा गरिएको छ । ई-स्पोर्ट्स काउन्टीले व्यवस्थापन गरिरहेको यस प्रतियोगिताका लागि उच्चस्तरीय नेटवर्क पूर्वाधार र उत्कृष्ट गेमिङ सेटअप तयार पारिएको आयोजकको दाबी छ ।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई टोलीले दक्षिण एसियाली स्तरको पब्जी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका साथै भुटान, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्काका टोलीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८२ १६:११