काठमाडौं । अर्बपति उद्यमी एलन मस्क सामाजिक सञ्जाल एक्समा दिनहुँजसो पोस्ट राखिरहेका हुन्छन् । हालै मात्र मस्क ४०० अर्ब डलर सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका छन् । त्यही क्रममा मस्कले एक्स पोस्टमा टिप्पणी गरेका छन्, जसले माइक्रोसफ्टका संस्थापक एवं पूर्व सीईओ बिल गेट्स र मस्कबीचको विवादलाई थप चर्काएको छ ।
मस्कले उक्त पोस्टको रिप्लाईमा भनेका छन्, “यदि टेस्ला विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बन्यो भने बिल गेट्स दिवालिया (ब्याङ्करप्ट) हुन सक्छन् ।” मस्कको यो टिप्पणी गेट्सको अघिल्लो ‘शर्ट पोजिसन’ सँग सम्बन्धित छ ।
सन् २०२२ को सुरुवातमा बिल गेट्सले टेस्लाको स्टक मूल्य घट्ने आशामा शर्ट पोजिसन लिएका थिए । गेट्सले टेस्लाका शेयर उधारो लिएर बेचिरहेका थिए र पछि ती शेयरहरू सस्तो मूल्यमा किनेर मुनाफा कमाउने योजनामा थिए । तर उनले ती शेयरहरू सस्तो मूल्यमा किन्ने अवसर पाएनन्, किनकि टेस्लाको मूल्य बढ्दै गयो । यसरी, गेट्सको शर्ट पोजिसनले उनी आफैंलाई डेढ अर्ब डलर बराबरको घाटा भएको बताइन्छ ।
यस वर्ष टेस्लाको शेयरमा ५६.९१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएपछि टेस्लाको शेयर बढिरहेको छ । टेस्लाले प्रभावशाली प्रदर्शन गरिरहे पनि अझै एप्पलभन्दा पछि छ । अहिले एप्पल इन्कको बजारमूल्य ३.७२९ ट्रिलियन डलर छ भने टेस्लाको १.२५१ ट्रिलियन डलर बराबर छ ।
शर्ट पोजिसन यस्तो रणनीति हो, जहाँ कुनै लगानीकर्ताले कुनै कम्पनीको शेयर ह्वात्तै घट्छ भनेर बाजी लगाउँछन् । बिल गेट्सले त्यसरी नै टेस्ला छिट्टै बाटोमा आउने अड्कल सहित शर्ट पोजिसन गरे । उनले भने अनुसार अहिले पनि गेट्सले टेस्लाको मूल्य घट्छ भनेर ठूलो रकम बाजी राखेका छन् । यसरी टेस्लाको शेयर दिनानुदिन बढ्दै जाँदा बाजीकै कारण बिल गेट्स कङ्गाल हुनसक्ने मस्कको अनुमान छ ।