काठमाडौं । एप्पलले आईप्याडभन्दा दुई गुणा ठूलो फोल्डेबल ट्याबलेट बनाइरहेको खबर बाहिर आएको छ । कम्पनीले गुपचुप तरिकाले आफ्नो सबैभन्दा ठूलो आईप्याडको दोब्बर आकारको फोल्डेबल ट्याबलेट बनाइरहेको जानकारी सार्वजनिक भएको हो ।
ब्लुमबर्गको रिपोर्ट अनुसार सम्भवतः उक्त फोल्डेबल ट्याबलेट सन् २०२६ मा सार्वजनिक हुनेछ । यो डिभाइस दुई ओटा आईप्याड प्रो जोडिएको जस्तो देखिने र जोडिएको भागमा क्रिज (बीचमा देखिने धर्को वा लाइन) नदेखिने बताइएको छ ।
एप्पलका डिजाइनरहरूले यस फोल्डेबल आईप्याडको प्रोटोटाइप तयार गरिसकेको बताइएको छ । बाहिरिएको डिजाइन अनुसार यसको कुल आकार १८.८ इन्च हुनेछ ।
यसअघि पनि विभिन्न समयहरूमा एप्पलले फोल्डेबल डिभाइस ल्याउने तयारी गरिरहेको चर्चा हुने गरेको थियो । यसको प्रमुख कारण भनेको सन् २०११ देखि नै एप्पलले फोल्डेबल प्रविधिसँग सम्बन्धित विभिन्न पेटेन्टहरू दर्ता गराउँदै आएको तथ्य हो ।
बजार विश्लेषकहरूका अनुसार अन्य प्रतिस्पर्धी कम्पनीहरूले फोल्डेबल स्मार्टफोन बजारमा पहिले नै प्रस्तुत गरिसकेका छन् । तर, एप्पलले फोल्डेबल आईफोनभन्दा पहिले फोल्डेबल आईप्याड ल्याउने योजना बनाएको देखिन्छ ।
एप्पलका सह-संस्थापक स्टिभ वोजनियाकले पनि यसअघि नै फोल्डेबल डिभाइस ल्याउन ढिला भए कम्पनी प्रतिस्पर्धीहरूभन्दा पछि पर्ने चेतावनी दिएका थिए ।