काठमाडौं । फिनटेक कम्पनी एफवन सफ्ट ग्रुपको खातामा अनधिकृत पहुँच लिएर ठुलो रकम चोरी भएको घटना बाहिर आएको छ । करिब दुई महिनाअघि एफवन सफ्टले आफ्नो खातामा कसैले अनधिकृत पहुँच पाएर रकम चोरी गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएको हो ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार यसमा अनधिकृत रूपमा सिस्टममा पहुँच पाएर रकम चोरी गरेको हुनसक्ने देखिएको छ । “यस विषयमा अनुसन्धान भइरहेको छ,” अवस्थीले भने, “अनथराइज एक्सेसको सम्भावना देखिएको छ । यस विषयमा प्राविधिक विश्लेषण गर्ने काम भइरहेको छ ।”
प्रहरी उपरीक्षक अवस्थीका अनुसार यस घटनामा धेरै व्यक्ति प्रतिवादी हुने देखिएको छ । अहिले अनुसन्धानकै क्रममा भएकाले थप विषय खुलाउन उपयुक्त नहुने अवस्थीको तर्क छ । ह्याकरले एफवन सफ्टको सिस्टम एक्सेस गरी तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।
एफवन सफ्ट ईसेवा, फोन पे, लगायतका फिनटेक कम्पनीहरूको माउ कम्पनी हो । जसले विभिन्न बैंकहरूका लागि इन्टरनेट तथा मोबाइल बैंकिङ सिस्टम विकास, व्यवस्थापन तथा सञ्चालनको कार्य समेत गर्दै आएको छ ।