close

के अब एआईले नै तपाईँको जोडी खोजिदेला ?

टेकपाना टेकपाना

पुस ६, २०८१ १८:५४

के अब एआईले नै तपाईँको जोडी खोजिदेला ?

काठमाडौं । जमाना नै विज्ञानको भएकाले प्रविधि लमी बनिसकेको छ । यसको सशक्त उदाहरण अनलाइन डेटिङ प्लेटफर्म हो । खासै चर्चामा नरहे पनि नेपालमा समेत यस्ता एप/कम्पनी उदाइसकेका छन् । ​पञ्चेबाजा, बिहेबारी, बिहे नेपाल, नेपाली मेट्रिमोनी, एस्ट्राेपड, एस्टर सीएलआईक्यू केही नाम हुन् ।

तर अब चाँडै अनलाइन डेटिङको क्षेत्रमा नयाँ युगको सुरुवात हुने अनुमान गरिँदै छ । एआई च्याटबटहरूको उदय यसको कारण हो । विशेषज्ञहरूका अनुसार यस प्रकारको प्रविधिले प्रेम र सम्बन्धको खोजीमा ठूलो परिवर्तन ल्याउने छ । 

म्याच डटकम, टिन्डर, हिन्ज, ओकेक्युपिड लगायतका डेटिङ एपहरूको मातृ कम्पनी म्याच ग्रुपले हालैमात्र एआईमार्फत प्रयोगकर्ताको अनुभव सुधार गर्न नयाँ योजनाहरू ल्याउने सङ्केत दिइसकेको छ । 

हिन्ज प्रमुख कार्यकारी (सीईओ) जस्टिन म्याकलियोडले त एपमा आगामी वर्षदेखि एआईलाई पूर्ण रूपमा एकीकृत गर्ने बताइसकेका छन् । “प्रेमजस्तो जटिल विषयमा एआईले सबै समस्याको समाधान नभए पनि डेटिङ एपको अनुभवलाई पूरा परिवर्तन गर्नेछ,” उनले भनेका छन् ।

उनको यही भनाइले अबको आधुनिक लमी एआई बन्ने अनुमान गर्न सकिन्छ । त्यसमाथि अहिले परम्परागत तरिकाले विवाह गर्ने शैलीमा परिवर्तन आइसकेको छ । त्यसैमा एआई प्रविधिले भूमिका खेल्न खोजेको देखिन्छ ।

यद्यपि विगतमा पनि डेटिङ एपहरूले जोडी मिलाउन मसिन लर्निङ प्रयोग गर्दै आएका थिए । अहिले नै पनि टिन्डरमा प्रयोगकर्तालाई प्रोफाइल फोटो छनोटका लागि एआई फिचर दिइएको छ । 

त्यस्तै भोलार, रिज जस्ता स्टार्टअपहरूले च्याटबटमार्फत डेटिङ एपहरूमा गरिने मेसेजहरू सहजीकरण गर्ने प्रयास गरिरहेका छन् । यसले प्रयोगकर्तालाई सम्भावित जोडीसँग कुराकानी गर्न सजिलो बनाउने बताइएको छ ।

यसैगरी हिन्ज एआई प्रयोग गरेर धेरै म्याच मिलाउने एल्गोरिदम तयार पारिसकेको छ । अब यो फिचर विश्वव्यापी रूपमा लागू गर्ने कम्पनीले जनाइसकेको छ ।

यस्तो परिस्थितिले गर्दा डेटिङ एपहरूमा एआईको भूमिका अझ बढ्दै जाने र अबको केही वर्षमा नै अनलाइन डेटिङको अनुभव पूरै फरक हुने अनुमान गर्न सकिन्छ ।

-सीएनएनको सहयोगमा

पछिल्लो अध्यावधिक: पुस ६, २०८१ १९:११