काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएपछि ‘बिटक्वाइन’ नामक क्रिप्टोकरेन्सीको मूल्य आकासिएको छ । आज एउटा बिटक्वाइनको मूल्य ९५ हजार ९८२ डलरभन्दा बढी छ । अर्थात नेपाली रुपैयाँमा हिसाब गर्ने हो भने आज एउटा बिटक्वाइनको मूल्य एक करोड ३० लाख रुपैयाँभन्दा माथि छ । तर, १४ वर्ष अगाडि यसको मूल्य कति थियो होला ?
आजभन्दा १४ वर्ष अगाडि अर्थात २२ मे २०१० मा फ्लोरिडा अमेरिकाका एक कम्प्युटर प्रोग्रामर लाज्लो हान्येक्सलाई पिज्जा खान मन लाग्यो । उनले दुई ओटा पिज्जा अर्डर गरे । तर विशेष कुरा के भयो भने उनले त्यसको भुक्तानी बिटक्वाइनमार्फत गरे । यो क्रिप्टोकरेन्सी प्रयोग गरेर गरिएको पहिलो वास्तविक लेनदेनको रूपमा इतिहासमा दर्ज भयो ।
हान्येक्सले १८ मे २०१० मा बिटक्वाइन टक (Bitcointalk.org) फोरममा आफूले बिटक्वाइन प्रयोग गरेर पिज्जा किन्न चाहेको उल्लेख गरेका थिए । उनले दुई ठुला पिज्जाका लागि १० हजार बिटक्वाइन तिर्न तयार रहेको बताएका थिए । जसले अर्डर डेलिभरी गरिदिन्छ, उसलाई क्रिप्टोकरेन्सी दिने प्रस्ताव उनले राखे ।
दिनहरू बित्दै गए तर हान्येक्सको प्रस्ताव स्वीकार गर्न कोही पनि तयार भएनन् । आशा टुट्दै गइरहेको थियो । २२ मेमा १९ वर्षीय जेरेमी स्टर्डिभान्टले फोरममा सबैको ध्यान खिच्न थाले । उनले १० हजार बिटक्वाइनका लागि दुई ओटा पिज्जाको प्रस्ताव स्वीकार गरे ।
त्यो समय दुई ओटा पिक्जाको मूल्य ४१ डलर थियो । स्टर्डिभान्टले ती दुई ओटा पिज्जा किने र हान्येक्सको फ्लोरिडास्थित घरमा पुगेर डेलिभरी दिए । त्यसपछि होन्येस्कले आफ्नो परिवारसँग खिचेको फोटो पनि शेयर गरे । र, फिज्जा पुर्याउन आएका व्यक्तिलाई १० हजार बिटक्वाइन उपलब्ध गराए ।
वर्षौंपछि लाज्लो हान्येक्सले त्यो दिनलाई ठुलो पछुतोको साथ सम्झिन्छन् । तर, सार्वजनिक कार्यक्रममा भने उनी आफूलाई त्यसमा कुनै पश्चाताप नरहेको बताउँछन् । सुरुवाति दिनमा बिटक्वाइनको प्रयोग गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन् ।
यदि उनले ती बिटक्वाइन जोगाएर राखेको भए आज ती १० हजार बिटक्वाइनबाट ९५ करोड ९८ लाख २८ हजार बढी डलर ( करिब १ खर्ब ३० अर्ब २८ करोड रुपैयाँ) हुन्थ्यो । द सनका अनुसार उनले त्यस दिन बिटक्वाइन बिक्री नगरेको भए उनी आज विश्वका अर्बपतिको बन्ने थिए ।
हालै मात्र बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च अर्थात एक लाख डलरभन्दा बढी माथि पुगेको थियो । अहिले भने केही घटिरहेको छ ।
यो प्रारम्भिक बिटक्वाइन लेनदेनले क्रिप्टोकरेन्सीको अस्थिरतालाई उजागर गरेको थियो । र यसले बिटक्वाइनजस्ता गतिशील क्रिप्टोकरेन्सी विनिमयको उपयुक्त माध्यम होइनन् भन्ने तर्कलाई थप मलजल गरेको थियो । त्यही दिनदेखि २२ मेलाई ‘बिस्क्वाइन पिज्जा डे’को रूपमा लिइन्छ ।