काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले प्रयोगकर्ताको मुड अनुसार भिडिओ सिफारिस गर्ने फिचरको परीक्षण थालेको छ । आफ्नो मुड अनुसार प्रयोगकर्ताले हेर्ने भिडिओलाई आधार बनाई युट्युबले सोही अनुसारका भिडिओ सिफारिस गर्ने फिचर ल्याउन लागेको हो ।
यस फिचरलाई ‘प्ले समथिङ’ नाम दिइएको छ । नाइन टु फाइभ गुगलले पहिलो पटक एन्ड्रोइडका लागि युट्युब एपमा यो फिचर उपलब्ध भएको पत्ता लगाएको थियो । सो प्लेटफर्मका अनुसार युट्युब एपको तल बटम बारभन्दा हल्का माथि कालो ब्याकग्राउन्डमा ‘प्ले समथिङ’ लेखिएको बटन देखिन्छ । त्यही बटनमा ट्याप गरिसकेपछि युट्युबले प्रयोगकर्ताको लाइक, डिसलाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्ने बानी विश्लेषण गर्छ । अनि त्यसैलाई आधार बनाई उपयुक्त कन्टेन्ट सिफारिस गर्छ ।
युट्युबले यो फिचर गत वर्षदेखि नै परीक्षण गरिरहेको चर्चा थियो । अहिले भने एन्ड्रोइड एपको भर्सन १९.५० मा यो फिचर परीक्षणका रूपमा उपलब्ध गराउन थालिएको हो । सबै प्रयोगकर्ताले यो फिचर कहिले प्रयोग गर्न पाउँछन् भन्ने खुलाइएको छैन । युट्युबको एल्गोरिदमले प्रयोगकर्ताको मुडलाई आधार बनाई कति सटीक भिडिओ उपलब्ध गराउन सक्छ, त्यसले नै यो फिचर लोकप्रिय बनाउने नबनाउने निर्धारण गर्नेछ ।