close

एलन मस्ककै बाटोमा मार्क जुकरबर्ग, हटाए फ्याक्टचेक नीति

टेकपाना टेकपाना

पुस २४, २०८१ १८:३३

एलन मस्ककै बाटोमा मार्क जुकरबर्ग, हटाए फ्याक्टचेक नीति

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र थ्रेड्सको अभिभावक कम्पनी मेटाले आफ्नो तथ्यजाँच (फ्याक्टचेक) कार्यक्रम हटाउने निर्णय गरेको छ । मेटाका संस्थापक मार्क जुकरबर्गले भिडिओ सन्देशमार्फत यसको घोषणा गरेका हुन् ।

जुकरबर्गका अनुसार मेटाले अब 'कम्युनिटी नोट' प्रणाली लागू गर्नेछ, जसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पोस्टहरूको विषयमा टिप्पणी गर्न र आफ्नो धारणा साझा गर्न सहयोग गर्नेछ । यसअघि मेटाले विश्वभरका ८० भन्दा बढी मिडिया संस्थाहरूसँग मिलेर २६ भाषामा तथ्यजाँच कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

'कम्युनिटी नोट' प्रणाली हाल एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिलेको ट्वीटर) मा प्रयोग भइरहेको छ । यस प्रणालीमा प्रयोगकर्ताले पोस्टका विषयमा सन्दर्भ, जानकारी वा आफ्ना टिप्पणी थप्न सक्छन् । यो नोट अन्य प्रयोगकर्ताले पनि हेर्न र मूल्याङ्कन गर्न सक्छन्, जसले पोस्टबारे धारणा बनाउन मद्दत गर्दछ ।

मेटाले यस्तो प्रणाली लागू गर्दा अब विश्वभरका तथ्यजाँच कार्यक्रम विस्थापित हुने बताइएको छ । जुकरबर्गले अमेरिका हुँदै यो प्रणाली अन्य देशमा विस्तार गरिने जानकारी दिए ।​

जुकरबर्गका अनुसार मेटाले स्वतन्त्र अभिव्यक्तिलाई प्राथमिकता दिने नीति अपनाउन थालेको हो । उनले भने, "फ्याक्टचेकका नाममा गलत निर्णयहरू भइरहेको थियो, जसले प्रयोगकर्ताहरूको विश्वासलाई प्रभावित पार्दै गएको छ ।" उनले थपे, "फ्याक्टचेक हटाउँदा केही गलत सामग्री छोडिने भए पनि, लाखौँ निर्दोष प्रयोगकर्ताका पोस्ट अनावश्यक सेन्सरबाट जोगिनेछन् ।"​

तथ्यजाँच कार्यक्रम हटाइएसँगै भ्रामक सूचना र द्वेषपूर्ण सामग्री सामाजिक सञ्जालमा बढ्ने चिन्ता केही विश्लेषकहरूले व्यक्त गरेका छन् । तर जुकरबर्गले लागूऔषध, आतंकवाद र बाल शोषण जस्ता गम्भीर अपराधसम्बन्धी सामग्रीमाथि कडाइ गर्ने प्रतिबद्धता जनाएका छन् ।

कम्युनिटी नोटले कसरी काम गर्छ ?

कम्युनिटी नोट प्रणालीमा प्रयोगकर्ताले पहिले नोट लेख्न अनुमति प्राप्त गर्नुप र्छ। उनीहरूले अन्य प्रयोगकर्ताका नोटहरूलाई मूल्याङ्कन गरी सही जानकारीको पुष्टि गर्ने क्षमता देखाएपछि मात्र नोट थप्न सक्नेछन् ।

तर यदि कुनै प्रयोगकर्ताका नोटहरू 'असहयोगी' ठहरिएमा नोट लेख्ने अनुमति फिर्ता लिन सकिनेछ। यसले सामुदायिक मूल्याङ्कन प्रणालीलाई जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस २४, २०८१ १८:३३