काठमाडौँ । डीएल अपलोड यस वर्षको एनवाईईएफ स्टार्टअप अवार्ड ४.० को विजेता बन्न सफल भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले शुक्रबार आयोजना गरेको एक कार्यक्रमबिच कम्पनीले ४ लाख रुपैयाँ नगद पुरस्कारसहित स्टार्टअप अवार्ड प्राप्त गरेको हो ।
मेल्ट डाउन भने उपविजेताको रूपमा सीमित भएको छ, उसले २ लाख रुपैयाँ नगद पुरस्कारसहित द्वितीय स्थान हासिल गरेको हो । यसैगरी खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै १ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
ज्ञान बजार, ई–कागजपत्र, माच२० अर्बिटल्स र स्मार्टपालिका समेत गरी ७ ओटा स्टार्टअप अवार्डको फाइनल चरण प्रवेश गरेका थिए । सबै फाइनलिस्टहरूले आफ्नो नवीन सोच र उद्यमशील प्रतिभा प्रदर्शन गर्दै गहिरो छाप छाडेका छन् ।
अवार्ड कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूले आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको औँल्याएका थिए ।
एनवाईईएफ स्टार्टअप अवार्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सफलताका लागि नेपालका सबैभन्दा आशाजनक स्टार्टअपहरूको पहिचान र सम्मान गर्ने महत्वपूर्ण मञ्चको रूपमा भूमिका निर्वाह गर्दै आएको छ ।
नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप यो कार्यक्रम हायात रेजेन्सी होटेल, चाबहिलमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १५० भन्दा बढीको सहभागिता रहेको थियो ।