काठमाडौं । नेपाली बजारमा नयाँ स्मार्टफोन ‘टेक्नो फ्यान्टम भी फोल्ड टु’ (Tecno Phantom V Fold 2) सार्वजनिक भएको छ । टेक्नो नेपालले बुधबारदेखि नेपाली उपभोक्तामाझ यो फोल्डेबल फोन उपलब्ध गराएको हो ।
‘बोर्न टु डोमिनेट’ ट्यागलाइन सहित आएको यस फोन मिडियाटेक डाइमेन्सिटी ९००० प्लस फाइभजी चिपसेटबाट सञ्चालित छ । फोनमा भिडिओ एडिटिङ, गेमिङ, वेब ब्राउजिङ जस्ता काम एकैपटक सहजै गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार फोनको ७.८५ इन्च टुके प्लस एमोलेड मुख्य स्क्रिनमा उत्कृष्ट दृश्य अनुभव पाउन सकिन्छ । यदि सानो साइजको फोनको अनुभव लिन चाहनुहुन्छ भने ६.४२ इन्च एलटीपीओ एमोलेड कभर स्क्रिनमा फोल्ड गर्न सकिन्छ ।
फोटोग्राफीमा सौखिनहरूका लागि यो फोन विशेष रहेको कम्पनीको भनाइ छ । यसमा ५० मेगापिक्सेल ट्रिपल रियर क्यामेरा सेटअप छ । यसअन्तर्गत ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश छन् । साथै, यसमा ३२ एमपी प्लस ३२ एमपी फ्रन्ट क्यामेरा उपलब्ध छ ।
कम्पनीका अनुसार, यो फोनलाई चार लाख पटकसम्म फोल्ड गर्न सकिन्छ । ५७५० एमएएचको ब्याट्रीका लागि ७० वाटको फास्ट चार्जिङ र १५ वाट वायरलेस चार्जिङ सुविधा छ ।
फोनको मूल्य एक लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । ईकमर्स प्लेटफर्म दराजमार्फत २२ जनवरीसम्म फोन खरिद गर्दा १० हजार रुपैयाँ मूल्य पर्ने भी पेन नि:शुल्क पाउन सकिन्छ ।