एन्ड्रोइड आत्मसात नगर्दा बिल गेट्सलाई पछुतो, गुम्यो ४०० अर्ब डलरको मोबाइल बजार
माघ ५, २०८१ ११:४६
काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले स्मार्टफोन बजारमा आफ्नो कम्पनीको पकड गुमाउनुलाई आफ्नो सबैभन्दा ठूलो गल्तीमध्ये एक भएको बताएका छन् । इभेन्टब्राइटका सीईओ जुलिया हर्ट्जसँगको कुराकानीमा गेट्सले माइक्रोसफ्टले स्मार्टफोन बजारमा आफ्नो प्रभाव जमाउन नसक्नु एक ठूलो गल्ती भएको स्वीकार गरेका हुन् ।
मनीकन्ट्रोलका अनुसार गेट्सले यो गल्ती माइक्रोसफ्टका लागि ‘सबैभन्दा ठूलो गल्ती’ भएको बताएका छन् । उनले यो गल्तीको कारण माइक्रोसफ्टलाई ४०० अर्ब डलरको नोक्सानी भएको समेत बताए ।
बिल गेट्सका अनुसार व्यवस्थापनमा कमजोरीका कारण माइक्रोसफ्टले फोन बजारमा प्रवेश गर्ने अवसर गुमाएको थियो । यदि माइक्रोसफ्टले सही समयमा बजारमा प्रवेश गरेको भए एप्पललाई हराउन सक्ने उनको भनाइ छ । गेट्सले माइक्रोसफ्टका लागि एप्पललाई जित्नु ‘स्वाभाविक’ भएको उल्लेख गरेका छन् ।
बिल गेट्सको यो भनाइपछि एन्ड्रोइडका सह-संस्थापक रिच माइनरले सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर) मा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले गेट्सले सोचेभन्दा बढी चार खर्ब डलर गुमाउनुमा गेट्स स्वयं जिम्मेवार रहेको बताएका छन् । रिच माइनरले आफूले एन्ड्रोइड बनाउन र माइक्रोसफ्टलाई यसमाथि नियन्त्रण गर्नबाट रोकेको बताए । बिल गेट्सले कम्प्युटर जस्तै फोनलाई पनि नियन्त्रण गरेर नयाँ आविष्कारहरू रोक्न सक्ने भएकाले आफूले एन्ड्रोइड बनाएको उनले दाबी गरे ।
एक्समा उनले लेखेका छन्, “जसरी उनीहरूले पीसीलाई नियन्त्रण गरेका थिए, त्यसरी नै फोनलाई नियन्त्रण गर्न नसकून् भनेर त्यसबाट रोक्न एन्ड्रोइड बनाएको हुँ । त्यसैले गेट्सले मोबाइल बजार एन्ड्रोइडलाई गुमाएकोमा गुनासो गरेको सुन्दा मलाई अचम्म लाग्छ ।”
यदि एन्ड्रोइडको सुरुवाती पिच डेक हेर्न चाहने हो भने आफ्नो सो पोस्ट रिपोस्ट गर्न उनले आग्रह गरेका छन् । माइनरले माइक्रोसफ्टले पर्सनल कम्प्युटरमा जस्तै मोबाइल बजारलाई पनि नियन्त्रण गर्नेमा चिन्ता व्यक्त गरे । उनी सधैं ‘ओपन’ सिस्टम चाहन्थे । उनले आफ्नो पोस्टमा अगाडि लेखेका छन्, “मैले सन् २००२ मा पहिलो विन्डोज मोबाइल फोन, एसपीभी लन्च गर्न मद्दत गरेको थिएँ । मलाई माइक्रोसफ्टले पीसी जस्तै मोबाइललाई पनि नियन्त्रण गर्छ कि भन्ने चिन्ता थियो । म केही अझ ओपन सिस्टम चाहन्थे । त्यसैले, बिल, माफ गर्नुहोस्, तपाईंले सोचेभन्दा बढी चार खर्ब डलर गुमाउनुमा तपाईं नै जिम्मेवार हुनुहुन्छ ।”
पछिल्लो अध्यावधिक: माघ ५, २०८१ ११:५४
