close

भाटभटेनीको कर प्रणाली ह्याक गरेर ७ करोड बढी दायित्व थपिदिने २ जना पक्राउ

टेकपाना टेकपाना

माघ ११, २०८१ १८:१०

भाटभटेनीको कर प्रणाली ह्याक गरेर ७ करोड बढी दायित्व थपिदिने २ जना पक्राउ

काठमाडौं । भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बिहादी गाउँपालिका-३ पर्वत घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखा भिमसेनथापा गाउँपालिका-४ घर भई चितवन भरतपुर बस्ने २२ वर्षीय परिन पाण्डे रहेका छन् ।

सीआईबीका अनुसार आन्तरिक राजस्व विभागको एकीकृत सफ्टवेयर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याएर कर विवरणमा हेरफेर गरेको भन्ने सूचनाको आधारमा अनुसन्धान अघि बढाइएको थियो । प्रारम्भिक अनुसन्धानमा उनीहरूले भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्ड प्रयोग गरी अस्वाभाविक कर विवरण पेस गरेको खुलेको छ ।

पराजुली र पाण्डेले विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ अन्तर्गत कम्प्युटरसम्बन्धी कसुर गरेको प्रहरीको आरोप छ ।

प्रहरीले उनीहरूबाट तीन थान ल्यापटप, एक थान सीपीयू, वाई-फाई राउटर, डीभीआर र दुई थान मोबाइल फोन समेत बरामद गरेको छ ।

उनीहरूले भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा प्रवेश गरी दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँको कारोबारलाई हेरफेर गरेको र कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँबाट बढाएर १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ पुर्‍याएको बताइएको छ ।

उनीहरूले आन्तरिक राजस्व विभागको पोर्टलमा गएर विभिन्न करदाताहरूको कारोबार विवरण आफूअनुकूल हुनेगरी परिवर्तन गरी राजस्वमा नोक्सानी पुर्‍याउने कार्य गरेको प्रहरीले जनाएको छ ।

यस घटनाको थप अनुसन्धान भइरहेको सीआईबीले ​जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ ११, २०८१ १८:१९