काठमाडौं । दिल्लीबाट नेपालका लागि साइकल यात्रामा निस्किएका दुई फ्रान्सेली नागरिक गुगल म्यापको ‘सर्टकट’का कारण उत्तर प्रदेशको एउटा दुर्गम गाउँमा पुगेर अलपत्र परेका छन् । भारत उत्तर प्रदेश प्रहरीले सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै यस विषयमा जानकारी दिएको हो ।
प्रहरीका अनुसार गत बिहीबार ब्रायन ज्याक्स गिल्बर्ट र सेबास्टियन फ्रान्कोइस गेब्रियल नाम गरेका ती यात्री दिल्लीबाट साइकलमा काठमाडौंमा आउने योजनामा थिए । त्यसका लागि उनीहरूले साइकल लिए र टनकपुर हुँदै काठमाडौं जाने योजना बनाए । यसका लागि उनीहरूले गुगल म्यापको सहायता लिइरहेका थिए ।
तर, रात परेपछि गुगल म्यापले उनीहरूलाई ‘सर्टकट’ देखाउँदै नेपालको सीमातर्फ लाग्नुको सट्टा उत्तर प्रदेशको बरेली जिल्लाको चुराइली बाँधतर्फ मोडिदियो । अपरिचित र सुनसान सडकमा अलमलिएका उनीहरू गन्तव्यहीन भएर अघि बढिरहेका थिए । रातको ११ बजेतिर गाउँलेहरूसँग भेट भएपछि उनीहरूको समस्या बाहिर आएको हो ।
मध्यरातमा दुई विदेशी साइकल यात्रीलाई देखेपछि गाउँलेहरू अचम्ममा परे । गाउँलेहरूले भाषा नबुझे पनि यात्रीहरूलाई सहयोग गर्ने निर्णय गरे र उनीहरूलाई नजिकैको चुराइली प्रहरी चौकीमा पुर्याए । प्रहरी अधिकारीहरूका अनुसार सुरुमा भाषाको समस्याले गर्दा उनीहरूको कुरा बुझ्न गाह्रो भएको थियो । तर, पछि ‘गुगल म्यापको गडबडी’ भएको थाहा पाएपछि उनीहरूले सहयोग गरे ।
वरिष्ठ प्रहरी अधिकारी अनुराग आर्यले पर्यटकहरूलाई अलपत्र नपारी गाउँकै मुखियाको घरमा बस्ने व्यवस्था मिलाए । भोलिपल्ट बिहान प्रहरीले उनीहरूलाई खाना खुवाएर आराम गराएपछि सही बाटो देखाइदिएर बिदा गरेका थिए । प्रहरीले उनीहरूलाई अर्को ‘शर्टकट’ नलिने सुझावसहित गन्तव्यतर्फ पठाएको थियो ।
७ जनवरीमा दिल्ली पुगेका यी दुई साइकल यात्रीले यो यात्रामा अनपेक्षित अनुभव बटुलेका छन् । उनीहरूले गुगल म्यापलाई विश्वास गर्दा बाटो बिराएको र भारतीय गाउँलेहरूको आतिथ्यता पाएको अनुभव सँगालेका छन् ।
अतिथि देवो भव:
दिनांक 23.01.2025 की रात्रि को दिल्ली से साइकिल लेकर नेपाल काठमांडु जा रहे 02 फ्रांसीसी नागरिकों के रास्ता भटक जाने की सूचना पर @bareillypolice द्वारा त्वरित कार्यवाही कर उनको सही दिशा बताकर गन्तव्य के लिए सकुशल रवाना किया गया। #UPPCarespic.twitter.com/b6VXwELHvr