काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ठूलो फड्को मार्दै ओपनएआईले आफ्नो पहिलो एआई एजेन्ट सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका विभिन्न माध्यममा भिडिओ सामग्री प्रसारण गर्दै कम्पनीले ‘अपरेटर’ नामक एआई एजेन्ट ल्याएको जानकारी दिएको हो ।
कम्पनीका अनुसार यो एआई एजेन्टले प्रयोगकर्ताले दिएका निर्देशन अनुसार विभिन्न अनलाइन कार्यहरू आफै गर्न सक्छ । अनुसन्धानको प्रारम्भिक चरणमा रहेको यो टुलमा वेब ब्राउजर पनि छ, जसले इन्टरनेटमा खोजेर प्रयोगकर्ताले तोकेका कामहरू गर्न सक्ने बताइएको छ । हाल यो सेवा अमेरिकामा मात्र उपलब्ध छ र च्याटजीपीटी प्रो प्रयोगकर्ताले मात्र यसलाई प्रयोग गर्न पाउनेछन् । कम्पनीले निकट भविष्यमा अन्य प्रयोगकर्ताका लागि पनि यो सेवा विस्तार गर्ने योजना बनाएको छ ।
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले एक लाइभस्ट्रिममा ‘अपरेटर’ एआई एजेन्ट सार्वजनिक गरेका थिए । उनले एआई एजेन्टले प्रयोगकर्ताले दिएका कामहरू स्वतन्त्र रूपमा गर्न सक्ने बताए । अल्टम्यानले एआई एजेन्टको भविष्य उज्ज्वल रहेको र यो एआईमा ठूलो परिवर्तन हुने उल्लेख गरे ।
उनका अनुसार यो ‘अपरेटर’ एजेन्ट ‘कम्प्युटर-युजिङ एजेन्ट’ (सीयूए) द्वारा सञ्चालित छ । यो एउटा अत्याधुनिक एआई मोडेल हो जसले जीपीटी-फोरओ को दृष्टि क्षमता र तर्क क्षमता (रिजनिङ क्यापाबिलिटी)लाई जोड्छ । यस एजेन्टलाई रिइन्फोर्समेन्ट लर्निङ प्रविधिको प्रयोग गरेर तालिम दिइएको कम्पनीले जनाएको छ । यसले बटन, मेनु र टेक्स्ट फिल्डजस्ता ग्राफिकल युजर इन्टरफेस (जीयूआई)सँग प्रभावकारी रूपमा काम गर्न सक्छ ।
यो एआई एजेन्टले टेक्स्ट र इमेज दुवैलाई इनपुटको रूपमा लिन सक्छ । साथै काम गर्नका लागि सीयूएले स्क्रिनबाट रअ पिक्सेल डेटा विश्लेषण गर्छ र भर्चुअल कीबोर्ड र माउस प्रयोग गर्छ । ओपनएआईले ‘अपरेटर’ले धेरै चरणका काम गर्न, गल्ती व्यवस्थापन गर्न र अप्रत्याशित परिवर्तनमा पनि आफूलाई ढाल्न सक्ने बताएको छ ।
एआई न्युजलेटर ‘द रनडाउन एआई’का संस्थापक रोवन चेङले ‘अपरेटर’ प्रयोग गर्ने अवसर पाएका थिए । उनले सामाजिक सञ्जालमा यसका अनुभव शेयर गरेका छन् । उदाहरणका लागि ‘अपरेटर’ले रेडिटबाट सुझावहरू लिएर बजेट र प्रयोगकर्ताको रुचि अनुसार विकेन्ड ट्रिपको योजना बनाएको थियो । रेडिटमा पहुँच गर्न नसकेपछि ‘अपरेटर’ले ‘रेडिट’ किवर्ड प्रयोग गरेर बिङ सर्चमा गएर खोजेको थियो । यसले समस्या समाधान गर्ने क्षमता देखाएको छ ।
अर्को उदाहरणमा चेङले ‘अपरेटर’लाई क्रिप्टोकरेन्सी टोकनको बारेमा अनुसन्धान गर्न लगाएका थिए । ‘के तपाईँ मानव हो’ भन्ने क्याप्चा आएपछि यसले प्रयोगकर्तालाई जानकारी गराएको थियो । प्रयोगकर्ताले प्रमाणित गरेपछि एआई एजेन्टले आफ्नो काम सहज रूपमा सम्पन्न गरेको थियो । प्रयोगकर्ताले चाहेको खण्डमा काम रोकेर फेरबदल गर्न वा सम्पादन गर्न सक्छन् ।
ओपनएआईले डोरड्यास, ईबे, इन्स्टाकार्ट र उबरजस्ता कम्पनीहरूसँग पनि सहकार्य गरिरहेको छ । यस सहकार्यको उद्देश्य ‘अपरेटर’ले यी प्लेटफर्मका सेवाहरू प्रयोग गर्दा नियम र सर्तहरूको पालना गरोस् भन्ने हो । सुरक्षाको दृष्टिकोणबाट ओपनएआईले ‘अपरेटर’को सुरक्षा परीक्षण गरिसकेको छ र तीनवटा मुख्य सुरक्षा जोखिमलाई कम गर्न उपाय अपनाएको छ । गलत प्रयोग, मोडेलको गल्ती र अप्रत्याशित जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सुरक्षाका उपायहरू अपनाएको छ ।
हाल ‘अपरेटर’ अमेरिकामा च्याटजीपीटी प्रो प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध छ । यसको लागि मासिक २०० डलर तिर्नुपर्ने हुन्छ । ओपनएआईले भविष्यमा सबै च्याटजीपीटी प्रयोगकर्ताहरूका लागि यो सेवा उपलब्ध गराउने योजना बनाएको छ ।