काठमाडौं । सामाजिक सञ्जालमा ५० करोडभन्दा बढी फलोअर रहेका मिस्टर बिस्ट विश्वको सबैभन्दा धेरै फलोअर हुने कन्टेन्ट क्रियटर बनेका छन् । अमेरिकाको फोर्ब्स म्यागेजिनले हालसालै सार्वजनिक गरेको सन् २०२४ का टप कन्टेन्ट क्रियटरको सूचीमा उनी पहिलो नम्बरमा परेका हुन् ।
उनको मुख्य युट्युब च्यानलमा ३५ करोडभन्दा बढी सब्सक्राइबर रहेका छन् । गत वर्ष मात्र उनको युट्युब च्यानलका भिडिओ ९ अर्बभन्दा बढी पटक हेरिएका छन् । उनले गत वर्ष कूल ८५ मिलियन डलर (११ अर्ब ७० करोड रुपैयाँ) आम्दानी गरेको म्यागेजिनले जनाएको छ ।
२६ वर्षीय मिस्टर बिस्टको वास्तविक नाम जिम्मि डोनल्डसन हो । एक हप्तासम्म गुफामा बाँच्ने, पाँच लाख डलरका लागि एक हप्तासम्म बङ्करमा बस्नुपर्ने जस्ता स्टन्टहरू गराएका कारण पनि उनका युट्युब कन्टेन्ट निकै रुचाइएका छन् ।
मिस्टर बिस्टले कपडादेखि फेस्टेबल क्यान्डी बारसम्मका उपभोग्य सामाग्रीहरू उत्पादन गरिरहेका छन् । तर उनका उत्पादन विवादित पनि बनेका छन् । उनको आगामी अमेजन शो, बिस्ट गेम्सका प्रतियोगीहरूले सेटमा असुरक्षित अवस्था बनाएको भन्दै गत सेप्टेम्बरमा उनको उत्पादक कम्पनीमाथि मुद्दा हालेका थिए । उनले उक्त मुद्दामा कुनै टिप्पणी गरेका छैनन् ।