close

कन्सर्टमा महिला प्रशंसकलाई चुम्बन गरेको उदित नारायणको भिडिओ भाइरल, नेपाल र भारतमा चर्को आलोचना

टेकपाना टेकपाना

माघ २०, २०८१ १०:५९

कन्सर्टमा महिला प्रशंसकलाई चुम्बन गरेको उदित नारायणको भिडिओ भाइरल, नेपाल र भारतमा चर्को आलोचना

काठमाडौं । चुम्बन गरेको भिडिओ भाइरल भएपछि गायक उदित नारायण झा विवादमा तानिएका छन् । एक कन्सर्टका क्रममा सेल्फी खिच्न आएकी प्रशंसकलाई चुम्बन गएपछि उनी विवादित भएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक र एक्समा भाइरल भएको भिडिओमा ६९ वर्षीय गायक झा एक कार्यक्रममा ‘टिप टिप वर्षा पानी’ गीत गाउँदै गरिरहेका देखिन्छन् । त्यस क्रममा एक महिला प्रशंसकले उनको गालामा चुम्बन गरेको देखिन्छ, त्यसपछि उनी क्यामेराको फ्रेममा अटाउन घुँडा टेक्छन् । 

त्यस लगतै गायक झा ती महिला प्रशंसकको ओठमा चुम्बन गर्न पुग्छन् । भिडिओमा उनले अन्य महिला प्रशंसकलाई गालामा चुम्बन गर्दा दर्शकले ताली बजाएको देखिन्छ भने अन्य महिलाहरू सेल्फीका लागि लाइनमा बसेका देखिन्छन् ।

उदित नारायणको भाइरल भिडिओले प्रशंसकलाई चकित बनाएको छ । धेरैले यो भिडिओ नक्कली होस् भन्ने कामना गरिरहेका छन् भने केहीले यो एआईले बनाएको वा डिपफेक भएको अपेक्षा राखिरहेका छन् । 

अरूले भने गायकको आलोचना गर्दै ‘आफ्नो आँखालाई विश्वास गर्न सकिनँ’, ‘यो एआईले बनाएको होस्’, र ‘उनले अन्तिम केटीलाई ओठमा चुम्बन गरे??’ जस्ता प्रतिक्रिया दिएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, “यो के हो?” अर्का प्रयोगकर्ताले झाको आलोचना गर्दै लेखेका छन्, “यस्तो व्यवहार वास्तवमै घिनलाग्दो छ । विशेषगरी यस्तो ठुलो प्रतिष्ठित व्यक्तिबाट यस्तो व्यवहार हुनु डरलाग्दो र एकदमै नीच काम हो ।”

हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै झाले भनेका छन्, “फ्यानहरू एकदमै दिवाना हुन्छन् । हामी त्यस्ता होइनौँ, हामी सभ्य मान्छे हौँ । कतिपय मानिसहरूले यसलाई प्रोत्साहन गर्छन् र यसरी आफ्नो माया देखाउँछन् । अब यो कुरालाई उडाएर के गर्नु ? भीडमा धेरै मानिसहरू हुन्छन्, र हामीसँग सुरक्षाकर्मीहरू पनि हुन्छन् । तर फ्यानहरूले भेट्ने मौका पाएको सोच्छन्, त्यसैले कसैले हात मिलाउन हात अघि बढाउँछन्, कोही हातमा चुम्बन गर्छन्... यो सब फ्यानहरूको पागलपन हो । यसलाई त्यति ध्यान दिनु हुँदैन ।”

नेपाली फेसबुक पेजहरूले पनि झाको ट्रोल बनाइरहेका छन् । उनले गाएको प्रेमिल गीतलाई उक्त भिडिओमा राख्दै ‘उमेर नै यस्तै हो’ भन्दै ट्रोल बनाइ रहेका छन् ।

 

पछिल्लो अध्यावधिक: माघ २०, २०८१ ११:०