close

सञ्चारमन्त्रीको अनुभवः फेसबुकले झन्डै भान्जा र भान्जी बुहारीको डिभोर्स गरायो !

टेकपाना टेकपाना

माघ २९, २०८१ २२:४९

सञ्चारमन्त्रीको अनुभवः फेसबुकले झन्डै भान्जा र भान्जी बुहारीको डिभोर्स गरायो !

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुकको अत्यधिक प्रयोगले परिवार र समाजमा नकारात्मक असर परिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित इन्टरनेट दिवसको अवसरमा मङ्गलबार आयोजनामा गरेको कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले परिवारमा पार्ने समस्याका बारेमा चर्चा गरे ।

पछिल्लो समय फेसबुकको कुलतले पारिवारिक सम्बन्धमा दरार ल्याएको र यसले समाजलाई नै खलबल्याएको उनको भनाइ छ । प्राधिकरणले आयोजना गरेको सो एक कार्यक्रममा मन्त्री गुरुङले आफ्नै गाउँको एउटा प्रतिनिधि घटना सुनाए ।

उनले भने, “मेरो गाउँमा जाँदा मेरो भान्जाले मलाई भन्यो, ‘मामा, म त हैरान भएँ । तपाईंकी भान्जी बुहारीलाई सम्झाउनुस्, नत्र म छोड्छु’ ।” कारण सोध्दा भान्जाले आफ्नी श्रीमती राति तीन-चार घण्टा मात्र सुत्ने, घरको काम नगर्ने, बालबच्चाको हेरचाह नगर्ने र दिनभरि फेसबुकमा झुन्डिने गरेको बताएको गुरुङले सुनाए ।

मन्त्री गुरुङले फेसबुकको लतले आफ्नो भान्जाको श्रीमतीलाई ‘मोहनी लागेको जस्तो’ अवस्थामा पुर्‍याएको बताए । उनले यस्ता घटनाले नेपाली समाजमा परिवारहरू विभाजित भइरहेको र यसले अन्ततः समाजलाई नै खलबल्याई रहेकोमा गम्भीर चिन्ता व्यक्त गरे ।

उनले थपे, “हामीले मर्यादित र समावेशी समाज बनाउन खोजेका हौं, भत्काउन होइन । त्यसैले यस विषयमा बेलैमा सोच्नुपर्छ ।”

सूचना प्रविधि क्षेत्रमा विकास हुनु राम्रो भए पनि यसबाट सिर्जना हुने जोखिम र समस्यालाई समयमै पहिचान गरी समाधान गर्न नसके यसले समाजलाई नै डुबाउने उनको चेतावनी छ । “सूचना प्रविधि क्षेत्रमा विकास हुनु एकदमै राम्रो कुरा हो । तर यसबाट सिर्जना हुने जोखिम र समस्यालाई समयमै पहिचान गरी समाधान गर्न सकिएन भने यसले समाजलाई डुबाउँछ,” उनले थपे ।

मन्त्री गुरुङले फेसबुकको प्रयोगलाई व्यवस्थित गर्न र यसको नकारात्मक प्रभावलाई कम गर्न आवश्यक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । फेसबुकलाई मनोरञ्जन र सूचना आदानप्रदानको माध्यमको रूपमा मात्र प्रयोग गर्नुपर्ने र यसको कुलतमा फस्नबाट बच्नुपर्ने उनको सुझाव छ ।

पछिल्लो अध्यावधिक: माघ २९, २०८१ २३:३