close

कुन कानुनले दियो ट्राफिक प्रहरीलाई ‘ह्विल लक’ गर्ने अधिकार ?

टेकपाना टेकपाना

फागुन १३, २०८१ १३:४५

कुन कानुनले दियो ट्राफिक प्रहरीलाई ‘ह्विल लक’ गर्ने अधिकार ?

काठमाडौं । ट्राफिक प्रहरीले सडकमा रोकिराखिएका गाडीमा ‘ह्विल लक’ लगाउने कानुनी आधार के हो भन्ने विषयमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत ट्राफिक प्रहरीले प्रयोग गर्ने कानुनी अधिकारबारे माग गरिएको सूचना नदिएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गरेका हुन् ।

चौधरीले माघ १५ गते बग्गीखाना ट्राफिक कार्यालयका सूचना अधिकारीलाई ईमेलमार्फत कानुनी जानकारी मागेका थिए । तर, तोकिएको समयभित्र कुनै जवाफ नआएपछि उनले फागुन ५ गते कार्यालय प्रमुखसमक्ष निवेदन दिए । त्यहाँबाट पनि प्रतिक्रिया नआएपछि गत फागुन ११ मा सूचना आयोगमा पुनरावेदन दिएको उनले उल्लेख गरेका छन् ।

निवेदक चौधरीले यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० र १६४ अनुसार ट्राफिक प्रहरीले नियम उल्लंघनमा जरिवाना लगाउने अधिकार मात्र पाउने, तर 'ह्विल लक' लगाउने अधिकार नपाउने तर्क गरेका छन् । त्यसैले प्रहरीलाई यस्तो कार्य गर्ने अधिकार कुन कानुनले दिएको हो भन्ने स्पष्ट पार्न सूचना आयोगमा पुनरावेदन दर्ता गरिएको उनको भनाइ छ ।

निवेदनमा ट्राफिक प्रहरीले प्रयोग गर्ने कानुनी अधिकारबारे जानकारी उपलब्ध गराउन तथा सूचना माग गर्दा जवाफ नदिएका सूचना अधिकारी र कार्यालय प्रमुखविरुद्ध कारबाही गर्न माग गरिएको छ ।

हाल सडकमा रोकिराखिएका सवारी साधनलाई नियन्त्रणमा लिन ट्राफिक प्रहरीले 'ह्विल लक' लाई तीव्रता दिएको छ । ट्राफिक व्यवस्थापन सुधार गर्ने, अव्यवस्थित पार्किङ रोक्ने, सडक अनुशासन कायम राख्ने तथा ट्राफिक नियम पालनामा कडाइ गर्ने उद्देश्य अनुरूप सवारी साधनमा ह्विल लक गर्ने प्रहरीको प्रतिक्रिया छ ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०८१ १३:५२