close

“एआई च्याटबटहरू साथी होइनन्, न त चेतनशील र भावनात्मक संवादकर्ता हुन्”

टेकपाना टेकपाना

असार ८, २०८३ ७:३८

“एआई च्याटबटहरू साथी होइनन्, न त चेतनशील र भावनात्मक संवादकर्ता हुन्”

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तीब्र रूपमा विकसित हुँदै जाँदा यसको प्रयोग पनि दैनिक जीवनका विविध क्षेत्रमा फैलिँदै गएको छ । कतिपय प्रयोगकर्ताले एआई च्याटबटहरूलाई हरेक जिज्ञासाको समाधान दिने नजिकको साथीझैँ पनि मान्न थालेका छन् । तर ओपन सोर्स मेसेजिङ एप ‘सिग्नल मेसेन्जर’ की अध्यक्ष मेरिडिथ ह्विटाकरले एआई च्याटबटहरूलाई साथी ठान्नु गलत हुने बताएकी छिन् ।

ब्लुमबर्गसँगको अन्तरवार्तामा च्याटजीपीटी र क्लाउड जस्ता च्याटबटहरूले निम्त्याउन सक्ने गोपनीयता सम्बन्धी जोखिमका बारेमा सोधिएको एक प्रश्नमा, ह्विटाकरले सचेत गराउँदै भनिन्, “यी तपाईंका साथी होइनन् । यी कुनै चेतनशील प्राणी होइनन् । यी मानवीय संवेदना र भावना बुझ्ने संवादकर्ता पनि होइनन् ।” उनले कहिलेकाहीँ कागजातहरू मिलाउन (फर्म्याट गर्न) एआई उपकरण प्रयोग गर्ने गरेको स्वीकार गर्दै भनिन्, ‘म तिनलाई प्रश्न भने सोध्दिनँ।’

उत्तरका लागि एआईमा भर पर्नुभन्दा आफैँ खोजी वा अनुसन्धान गर्नु उचित हुने उनको धारण छ । उनले भनिन्, "म आफ्नो चिन्तन र लेखनप्रति निकै गम्भीर छु । कुनै विचारलाई आफैंले गहिरिएर बुझ्ने र विकास गर्ने प्रक्रियालाई, पहिले नै उपलब्ध सामग्रीको औसतमा आधारित जवाफ दिने प्रणालीले ओझेलमा पारोस् भन्ने म चाहन्नँ ।"

केही समयअघि माइक्रोसफ्ट एआईका सीईओ मुस्तफा सुलेमानले प्रयोगकर्ताहरूले यस वर्ष क्रिसमसको सम्पूर्ण किनमेल माइक्रोसफ्ट कोपाइलटलाई जिम्मा दिन सक्ने भविष्यवाणी गरेका थिए । यस प्रति टिप्पणी गर्दै ह्विटाकरले फरक मत राखिन् । कोपाइलटले कसलाई के चाहिएको छ भनी पत्ता लगाउन परिवारको सामूहिक कुराकानी (ग्रुप च्याट) गोप्य रूपमा सुन्ने परिदृश्य बनेको उनको भनाइ छ । 

उनले भनिन्, “यसको सीधा अर्थ मेरो क्रेडिट कार्ड, मेरो ब्राउजर, मेरो सिग्नल, मेरो तर्फबाट दाजुभाइ दिदीबहिनीसँग सन्देश पठाउने क्षमता, मेरो घरको ठेगाना र मेरो क्यालेन्डर जस्ता अत्यधिक व्यक्तिगत पहुँच दिनुपर्ने अवस्था सिर्जना गर्नु हो ।”

एआईलाई व्यक्तिगत कुराहरूमा अत्यधिक पहुँच दिनु उचित नहुने उनको भनाइ छ ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८३ ७:४५