close

डा. शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन, यस्ता छन् कार्ययोजना

टेकपाना टेकपाना

फागुन १६, २०८१ १३:०

डा. शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन, यस्ता छन् कार्ययोजना

काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था ‘साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल’ (CSRI Nepal) ले नयाँ नेतृत्व पाएको छ। बुधबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सूचना प्रविधिविज्ञ डा. शालिग्राम पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्राध्यापक गजेन्द्र शर्मा, उपाध्यक्षहरूमा विजय कुमार रोय, राजकुमार महर्जन र डा. अमृता शर्मा चयन भएका छन्। महासचिवमा डा. भोजराज घिमिरे निर्वाचित भएका छन् भने सचिवहरूमा सरला कार्की, आभास अधिकारी, गंगा भण्डारी र तेजप्रसाद धमला चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी कमला अधिकारी अर्यालले सम्हाल्ने छिन्।

त्यस्तै सदस्यहरूमा रिता पोखरेल, जयन्ती माला चापागाईँ, डा. शान्तिकला सुवेदी र ओमकार बस्नेत रहेका छन्। संस्थाको पहिलो बैठकले कार्यसमितिमा थप तीन जना थप्ने जनाइएको छ।

सो अवसरमा संस्थाको प्रेसिडेन्ट काउन्सिल समेत गठन गरियो। काउन्सिलमा संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा निवर्तमान अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य र वर्तमान अध्यक्ष शालिग्राम पराजुली (सदस्य-सचिव) रहेका छन्। त्यस्तै सल्लाहकार समितिमा चिरञ्जीवी अधिकारी, प्रा.डा. सुवर्ण शाक्य, रोजाकिरण बासुकला र भीमध्वज श्रेष्ठ रहेका छन्।

साधारणसभामा महासचिवको वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो।

दुई दशकभन्दा लामो समयदेखि नेपालको सूचना प्रविधि क्षेत्रलाई योगदान दिनुभएका नवनिर्वाचित अध्यक्ष डा. शालिग्राम पराजुलीले साइबर सुरक्षा क्षेत्रमा नेपाललाई सशक्त बनाउन कार्ययोजना अघि बढाइएको बताए। शैक्षिक संस्थाहरू, उद्योग क्षेत्र तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै साइबर सुरक्षा सम्बन्धी अनुसन्धान, नीति निर्माण तथा जनचेतना अभिवृद्धि गर्ने योजना उनले प्रस्तुत गरे।

“नेपालमा प्रविधिको तीव्र विकास भइरहँदा साइबर सुरक्षामा अझै धेरै गर्नुपर्ने छ। हाम्रो उद्देश्य भनेको नेपाललाई साइबर सुरक्षाको क्षेत्रमा अग्रणी बनाउनु हो। यसका लागि सीएसआरआई नेपालले अन्य सरोकारवालासँग सहकार्य गरी अनुसन्धान, नीति निर्माण र जनचेतना कार्यक्रममार्फत डिजिटल सुरक्षालाई बलियो बनाउनेगरी कार्यक्रम ल्याउने छौँ,” सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञसमेत रहेका अध्यक्ष डा. पराजुलीले भने।

उनले सीएसआरआईको अगुवाइमा साइबर सुरक्षा सम्बन्धी पूर्वाधार निर्माण, जनचेतना कार्यक्रम, नीति निर्माणमा सहकार्य तथा अनुसन्धान प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गरे।

संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीले सीएसआरआईले स्थापनाकालदेखि नै शैक्षिक अनुसन्धान र उद्योग क्षेत्रको आवश्यकताबीचको खाडल पुर्ने, नवीन समाधानहरू विकास गर्ने र वास्तविक सुरक्षाका चुनौतीहरू समाधान गर्न काम गरिरहेको जानकारी दिए।

नवनिर्वाचित सचिव सरला कार्कीले सीएसआरआई र कोरियास्थित इन्फर्मेसन टेक्नोलोजी एप्लिकेसन्स एन्ड म्यानेजमेन्ट (आईटीएएम) सोसाइटी बीच सहकार्य हुने सम्भावना रहेको जानकारी दिँदै उक्त समझदारीले अनुसन्धान र नवप्रवर्तनमा सहयोग पुग्ने धारणा राखिन्।

त्यस्तै सीएसआरआईका नवनिर्वाचित महासचिव डा. भोजराज घिमिरेले डिजिटल युगमा साइबर सुरक्षा कुनै विकल्प नभई आवश्यकता भएको बताउँदै यो क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य जरुरी रहेको बताए। डा. घिमिरेले सरकारी तथा निजी क्षेत्र, शैक्षिक समुदाय, तथा अन्य सरोकारवाला निकायहरूलाई सीएसआरआई नेपालसँग सहकार्य गर्न आग्रह गरे।

पछिल्लो अध्यावधिक: फागुन १८, २०८१ १४:३२