काठमाडौं । माइक्रोसफ्टले आफ्नो छुट्टै एआई मोडेल ल्याउने भएको छ । एआई कम्पनी ओपनएआईसँग प्रतिस्पर्धा गर्न माइक्रोसफ्टले आफ्नै एआई मोडेल विकासको काम थालेको हो ।
‘द इन्फर्मेसन’ पत्रिकाका अनुसार कम्पनीले यी मोडेल डेभलपरलाई बेच्ने योजना बनाएको छ । ओपनएआईको प्रमुख लगानीकर्ता रहेको माइक्रोसफ्टले कोपाइलटमा ओपनएआईको एआई मोडेल समावेश गरेको थियो ।
अहिले कम्पनीले एलन मस्कको एक्सएआई, मेटा र डिपसिकका मोडेल परीक्षण गर्न थालेको छ । माइक्रोसफ्टले च्याटजीपीटी निर्मातामाथिको निर्भरता कम गर्न यो रणनीति अपनाउन लागेको रोयटर्सले उल्लेख गरेको छ ।
द इन्फरमेसनका अनुसार मुस्तफा सुलेमानको नेतृत्वमा रहेको माइक्रोसफ्टको एआई डिभिजनले ‘एमएआई’ नाम दिइएको मोडेलको विकास लगभग पूरा गरेको छ । यी मोडेलले ओपनएआई र एन्थ्रोपिकका एआई मोडेलले जत्तिकै राम्रो प्रदर्शन गर्ने दाबी गरिएको छ ।
उक्त टोलीले चेन-अफ-थट प्रविधि प्रयोग गरी तर्क गर्न सक्ने मोडेललाई तालिम दिइरहेको छ । यस प्रविधिले जटिल समस्या समाधान गर्दा बीचमा तर्क सहितका जवाफ तयार गर्छ । यसले ओपनएआईका मोडेलहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ ।
सुलेमानको टोलीले कोपाइलटमा ओपनएआईका मोडेलको सट्टा एमएआई मोडेलहरू प्रयोग गर्ने प्रयोग गरिरहेको छ । कम्पनीले यस वर्षको अन्त्यसम्ममा एमएआई मोडेलहरूलाई एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) को रूपमा जारी गर्ने तयारी गरिरहेको बताइएको छ । यसले बाहिरका डेभलपरलाई यी मोडेललाई आफ्नै एपमा प्रयोग गर्न अनुमति दिनेछ ।