close

इसेवामा आबद्ध भयो हिमालयन बैंक, अब एचआई-एमबी एपबाट इसेवामा रकम लोड गर्न मिल्ने

टेकपाना टेकपाना

फागुन २६, २०८१ १०:४८

इसेवामा आबद्ध भयो हिमालयन बैंक, अब एचआई-एमबी एपबाट इसेवामा रकम लोड गर्न मिल्ने

काठमाडौं । अब हिमालयन बैंकको मोबाइल बैंकिङ एपबाट पनि इसेवामा रकम लोड गर्न सकिने भएको छ । यसका लागि भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट कम्पनी इसेवा र हिमालयन बैंक बीच विद्युतीय कारोबारसम्बन्धी साझेदारी भएको हो ।

यस साझेदारीसँगै पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरूले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् । दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यका साथ गत हप्ता एउटा औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यो साझेदारी पश्चात् अब हिमालयन बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप एचआई–एमबी (HI-MB) प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताहरूले पनि आफ्नो इसेवा वालेटमा भएको रकम हिमालयन बैंकको खातामा जम्मा गर्न सक्नेछन् ।

इसेवामा हालसम्म ४९ ओटा साझेदार बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन् । र यसमा हिमालयन बैंक पनि जोडिए पश्चात् नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले यो सम्झौताले दुवै पक्षका ग्राहकलाई बिना झन्झट आफ्नो बैंक खाता र इसेवा वालेट बीच रकम ट्रान्सफर गर्न सहज बनाउने बताए ।

यस सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउनुको साथै डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरामा समेत उनले जोड दिए । खड्काले भविष्यमा ग्राहकहरूको हित तथा सहजताका लागि आवश्यकता अनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

 

पछिल्लो अध्यावधिक: फागुन २६, २०८१ १०:४८