काठमाडौं । हास्य व्यङ्ग्यसम्बन्धी शो ‘कमेडी दरबार’मा आफू लक्षित मजाक गरेपछि टिकटकर प्रिज्मा खतिवडाले आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जाल टिकटकमार्फत खतिवडाले सो विषयलाई लिएर आक्रोश पोखेकी हुन् ।
शुक्रबार विभिन्न सञ्चार माध्यममा खतिवडाले कमेडी दरबारका विभिन्न व्यक्तिहरू विरुद्ध निवेदन दिएको समाचार आएको थियो । शनिबार खतिवडाले अपलोड गरेको टिकटक भिडिओमा लेखिएको थियो, “जसले मलाई जे दियो, उसलाई त्यो भन्दा दोब्बर दिनु है भगवान… चाहे त्यो प्रेम होस् वा बर्बादी ।”
भिडिओमा खतिवडा दुःखी मुद्रामा देखिन्थिन् । समाचार आए लगत्तै खतिवडाले राखेको यस्तो भिडिओलाई लिएर धेरैले कमेडी शोमा गरिएको मजाक प्रति लक्षित भएको धेरैले लख काटे, र कमेन्ट गर्न थाले । त्यहीमध्ये टिकटकमा वाईआर अधिकारी नाम भएका प्रयोगकर्ताले कमेन्टमा लेखेका थिए, “नानी ! तिमीलाई के भनेको छ र त्यो कमेडी दरबारमा ? मैले धेरै पटक हेरेँ । तर, त्यस्तो नराम्रो त लागेन है !”
कमेन्टको रिप्लाईमा प्रिज्माले लेखिन्, “तपाईँलाई नराम्रो लागेन भने मलाई राम्रो लाग्नै पर्ने हो र ? हरेक ठाउँमा विवाह भएका मानिससँग नाम जोडेर भद्दा मजाक गरेको सहेर बस्नै पर्ने हो र हामी ? जसलाई पर्छ, उसलाई थाहा हुन्छ।”
त्यस्तै ‘टिकटक फाप्दैन’ भन्दै कमेन्ट गर्ने जीवन नामका टिकटक प्रयोगकर्तालाई रिप्लाई दिँदै खतिवडाले भनिन्, “तपाईँको छोरी चेलीलाई पनि कुनै दिन यस्तै परोस्, भद्दा मजाक गरोस् अनि बल्ल तपाईँहरू जस्तो समाजका सो कल्ड छोरा मान्छेलाई चेत आउँछ ।”
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले टिकटकर तथा मोडेल खतिवडाले कार्यालयमा उजुरी दिएको बारे आफूलाई जानकारी नभएको बताए । ब्युरोका अनुसन्धान अधिकारीले भने खतिवडा सल्लाह लिन भने ब्युरो आइपुगेकी थिइन् । “जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिनु भएको रहेछ । त्यसैले दुई ठाउँमा दिन नमिल्ने भयो । हामीसँग के गर्दा हुन्छ भनेर सल्लाह माग्नु भएको थियो,” ब्युरोका एक अनुसन्धान अधिकृतले टेकपानालाई सुनाए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार खतिवडाले आइतबार विभिन्न व्यक्तिहरू विरुद्ध निवेदन दिएकी थिइन् । खतिवडाले निवेदनमा कसको नाम उल्लेख गरेकी छिन् भन्ने कुरा भने प्रहरी उपरीक्षक बोहोराले खुलाएनन् ।
कमेडी दरबारको एक एपिसोडमा कमेडियन सुन्दर खनालले सागर लम्साल बलेलाई व्यङ्ग्य गर्दै उनलाई ‘टिकटकर नफाप्ने’ बताएका थिए । त्यही व्यङ्ग्यमाथि असन्तुष्टि जनाउँदै खतिवडाले निवेदनमा शोका विभिन्न व्यक्तिको नाम उल्लेख गर्दै निवेदन दर्ता गरेको बताइएको छ ।