close

काठमाडौं फिनटेक बन्यो ‘द एसिया बैंकर’को नेपाल र भुटानको आधिकारिक प्रतिनिधि

टेकपाना टेकपाना

चैत ३, २०८१ १३:७

काठमाडौं फिनटेक बन्यो ‘द एसिया बैंकर’को नेपाल र भुटानको आधिकारिक प्रतिनिधि

काठमाडौं । द एसिया बैंकर (TAB Global)ले ‍काठमाडौं फिनटेकलाई नेपाल र भुटानका लागि आफ्नो आधिकारिक प्रतिनिधिको रूपमा नियुक्त गरेको छ । शुक्रबार एक समारोहबिच समझदारी पत्रमा हस्ताक्षर गर्दै काठमाडौं फिनटेकलाई आधिकारिक प्रतिनिधि नियुक्त गरेको हो । 

यो समझदारीले नेपाल र भुटानको बैंकिङ तथा फिनटेक क्षेत्रलाई विश्वस्तरीय वित्तीय ज्ञान र नेटवर्कमा जोड्ने उद्देश्य राखिएको छ । यसले फिनटेक व्यवसायीहरूलाई द एसिया बैंकर, द बैंकिङ एकेडमी, ट्याब इन्साइट्स, वेल्दी एन्ड सोसाइटी जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्ममा पहुँच दिने बताइएको छ । 

सम्झौतामा हस्ताक्षर गर्दै  द एसिया बैंकिङका अध्यक्ष इम्यानुएल ड्यानियलले नेपाल र भुटानको वित्तीय क्षेत्र डिजिटल रूपान्तरणको यात्रामा रहेको र यस प्रक्रियालाई थप मजबुत बनाउन विश्वभरका ज्ञान आदान-प्रदान र नेटवर्किङ आवश्यक रहेको बताए । 

उनले काठमाडौं फिनटेकसँगको सहकार्यप्रति उत्साहित रहेको बताउँदै नेपाली तथा भुटानी वित्तीय संस्थाहरूलाई अन्तर्राष्ट्रिय अवसरहरूसम्म पुर्‍याउन प्रतिबद्ध रहेको स्पष्ट पारे । 

यस्तै काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले यो साझेदारीमार्फत ग्लोबल बैंकिङ अभ्यास, डिजिटल वित्तीय सेवा तथा नवीनतम प्रविधिहरूमा नेपाली तथा भुटानी व्यवसायीहरूलाई जोड्ने अवसर मिल्नु अत्यन्त सकारात्मक रहेको बताए ।

सम्झौता अनुसार काठमाडौं फिनटेक अब द एसिया बैंकरको नेपाल र भुटानका लागि आधिकारिक एजेन्ट हुनेछ । यसले दुई देशका वित्तीय संस्थाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्ने, विश्व स्तरीय तालिम तथा सम्मेलनहरूमा सहभागी गराउने तथा बैंकिङ नवप्रवर्तनलाई प्रवर्धन गर्ने जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत ३, २०८१ १३:७