close

आईफोन र एन्ड्रोइडबिचको आरसीएस मेसेजमा पनि इन्ड-टु-इन्ड इन्क्रिप्सन, अब झनै सुरक्षित हुने

टेकपाना टेकपाना

चैत ३, २०८१ १५:२४

आईफोन र एन्ड्रोइडबिचको आरसीएस मेसेजमा पनि इन्ड-टु-इन्ड इन्क्रिप्सन, अब झनै सुरक्षित हुने

काठमाडौं । आईफोन र एन्ड्रोइड फोनबिच आदानप्रदान हुने टेक्स्ट मेसेज अब झनै सुरक्षित हुने भएका छन् । एप्पलले आईओएस १८ सँगै रिच कम्युनिकेसन सर्भिसेस (आरसीएस) को प्रयोग गर्ने भएपछि यो सुविधा थपिएको हो । 

यसले दुई प्लेटफर्मबिचको सञ्चारलाई अझ राम्रो, सुरक्षित र भरपर्दो बनाउने बताइएको छ । हालसम्म एप्पलले आफ्ना प्रयोगकर्ताका लागि मात्र सुरक्षित (इनक्रिप्टेड) मेसेजिङ सुविधा दिँदै आएको थियो । तर, अब आरसीएस मार्फत पठाइने मेसेजमा पनि ‘इन्ड-टु-इन्ड इन्क्रिप्सन’ को सुविधा थपिनेछ । यसले गर्दा मेसेज पठाउने र पाउने व्यक्तिबाहेक अरू कसैले पनि मेसेज पढ्न सक्ने छैनन् ।

आरसीएस एसएमएस तथा एमएमएसको अत्याधुनिक संस्करण हो । एन्ड्रोइड डिभाइसमा यो फिचर सन् २०१९ देखि नै उपलब्ध छ । सन् २०२४ मा एप्पल डिभाइसमा आरसीएस आएपछि एन्ड्रोइड र एप्पलबिचको मेसेज हरियो रङमा देखिने गरेका छन् । यसका साथै हाई क्वालिटीको फोटो र भिडिओ पनि मेसेजबाटै आदानप्रदान गर्न सकिने भएको छ ।

एप्पलको सपोर्ट साइटका अनुसार आरसीएसले आईमेसेज जस्तै सुविधा दिन्छ । यसमा टेक्स्ट, हाई रिजोलुसन फोटो तथा भिडिओका साथै लिङ्क समेत पठाउन सकिन्छ । साथै डेलिभरी रिपोर्ट (मेसेज पुगेको), रिड रिसिप्ट (मेसेज सिन गरेको) र टाइप गर्दा देखिने सङ्केत पनि यसमा उपलब्ध छ ।

यद्यपि सन् २०२४ मा आरसीएस आए पनि एप्पलले इन्क्रिप्सनको सुविधा भने थपेको थिएन । त्यसैले एप्पलको सपोर्ट साइटमा “आरसीएस मेसेजहरू इन्ड-टु-इन्ड इन्क्रिप्टेड हुँदैनन्, जसको अर्थ डिभाइसबीच मेसेज पठाउँदा तेस्रो पक्षले पढ्न सक्ने जोखिम हुन्छ,” भन्ने उल्लेख थियो । 

मोबाइल नेटवर्क अपरेटरको विश्वव्यापी संस्था जीएसएमएले आरसीएसका लागि नयाँ मापदण्डहरू तय गरेको छ । यसले मेसेज र अन्य सामग्री सुरक्षित रहने कुरा सुनिश्चित गरेको छ । एप्पलका प्रवक्ता शन बावरले द भर्जसँगको कुराकानीमा इन्ड-टु-इन्ड इन्क्रिप्सन एक शक्तिशाली गोपनीयता र सुरक्षा प्रविधि भएको बताएका छन् । 

यो सुविधा आईओएस, आईप्याडओएस, म्याकओएस र वाचओएसका भविष्यका अपडेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार

गुगल मेसेजमा डिफल्ट रूपमै लागु भयो इन्ड-टु-इन्ड इन्क्रिप्सन

के हो मेसेजिङ एपमा हुने इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर ?

 

 

पछिल्लो अध्यावधिक: चैत ३, २०८१ १५:२४