close

एलन मस्कले आफ्नै कम्पनी ‘एक्सएआई’ लाई ३३ अर्ब डलरमा एक्स बेचे

टेकपाना टेकपाना

चैत १६, २०८१ ११:१

एलन मस्कले आफ्नै कम्पनी ‘एक्सएआई’ लाई ३३ अर्ब डलरमा एक्स बेचे

काठमाडौं । एलन मस्कले आफ्नो सामाजिक सञ्जाल कम्पनी एक्सलाई आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप एक्सएआईमा गाभ्ने घोषणा गरेका छन् । एक्सएआईले एक्सलाई ४५ अर्ब डलर दिनेछ, जुन मस्कले सन् २०२२ मा खरिद गरेको मूल्यभन्दा केही बढी हो । तर, यो नयाँ सम्झौतामा १२ अर्ब डलरको ऋण पनि समावेश छ ।

मस्कले आफ्नो एक्स खातामा यो सम्झौताले एक्सको मूल्य ३३ अर्ब डलर पुर्‍याएको उल्लेख गरेका छन् ।

“एक्सएआई र एक्सको भविष्य एकअर्कासँग जोडिएको छ,” मस्कले एक्समा लेखेका छन्, “आज हामीले डेटा, मोडेल, कम्प्युट, डिस्ट्रिब्युसन र ट्यालेन्टलाई संयोजन गर्ने आधिकारिक कदम चालेका छौं । यो संयोजनले एक्सएआईको उन्नत एआई क्षमता र विशेषज्ञतालाई एक्सको विशाल पहुँचसँग मिसाएर अपार सम्भावना खोल्नेछ ।”

मस्कले एक्समा तत्काल कुनै परिवर्तनको घोषणा गरेका छैनन् । यद्यपि, एक्सएआईको ग्रोक च्याटबट पहिले नै सामाजिक सञ्जाल प्लेटफर्ममा एकीकृत भइसकेको छ । मस्कले संयुक्त कम्पनीको मूल्य ८० अर्ब डलर हुने बताए ।

उनले सन् २०२२ मा ट्वीटर खरिद गरेदेखि प्लेटफर्ममा धेरै परिवर्तन गरेका छन् । यसअन्तर्गत कम्पनीका ८० प्रतिशत कर्मचारी हटाए, प्लेटफर्मको भेरिफिकेसन प्रणाली परिवर्तन गरे र सस्पेन्ड गरिएको अकाउन्टहरू केही महिनाभित्रै फुकुवा गरिदिए । अन्य धेरै नीति ल्याए ।

ट्रम्प प्रशासनमा मस्कको भूमिका बढिरहँदा एक्स र एक्सएआई गाभिने विषय बाहिर आएको छ । मस्कले एआई क्षेत्रमा आफूलाई एक नेताका रूपमा स्थापित गर्न पनि काम गरिरहेका छन्, जुन ट्रम्प प्रशासन र प्रविधि उद्योग दुवैका लागि ठूलो ध्यानको विषय भएको बताइएको छ ।

मस्कका अनुसार हाल एक्समा ६० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन् । 

पछिल्लो अध्यावधिक: चैत १६, २०८१ १२:४६