काठमाडौँ । विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर हुनेमध्ये दोस्रो च्यानल टी-सिरिजमा नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक भएको छ । भारतको ठुलो म्युजिक कम्पनीसमेत रहेको टी-सिरिजले सोमबार आफ्नो युट्युब च्यानलमा ‘उफ’ शीर्षकमा गीत रिलिज गरेको हो ।
रिलिज भएको चार घण्टामा यस गीतले दुई लाख ६२ हजारभन्दा बढी भ्युज बटुलेको छ ।
हिन्दी भर्सनमा गायक सुशान्तसँगै अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । नेपाली गीतमा रहेको इन्द्रकला राईको स्वरयुक्त भाग भने जस्ताको तस्तै राखिएको छ ।
भिडिओको सेटिङ नेपाली संस्करणसँग मिल्दोजुल्दो भएपनि हिन्दी भर्सनमा नेपाली संस्करणमा देखिएका अन्य कलाकारहरू देखाइएको छैन ।
केसीको गीत ‘बार्दली’ ग्लोबल म्युजिक ट्रेन्डिङमा पर्ने तेस्रो नेपाली गीत समेत हो । २९ करोड २० लाख बढी सब्सक्राइबर भएको टी-सिरिजले यसअघि पनि केही नेपाली कलाकारहरूसँग सहकार्य गरिसकेको छ ।