close

टुटलको नयाँ योजना, अब राइडरले कमिसन तिर्न नपर्ने

टेकपाना टेकपाना

जेठ ४, २०८२ १७:३४

टुटलको नयाँ योजना, अब राइडरले कमिसन तिर्न नपर्ने

काठमाडौँ । टुटलले आफ्ना राइडरहरूका लागि शून्य प्रतिशत कमिसनमा आधारित राइड-हेलिङ सब्सक्रिप्सन योजना ‘टुटल प्रो’ सार्वजनिक गरेको छ। 

भोलि जेठ ६ गतेदेखि लागू हुने यो योजनाले बाइक र ट्याक्सी चालकहरूलाई मासिक शुल्क तिरेर अनलिमिटेड सवारी सेवा दिन र १०० प्रतिशत आम्दानी आफ्नै खातामा राख्न सुविधा दिनेछ । यस अन्तर्गत बाइक राइडर मासिक ९९९ रुपैयाँमा टुटल प्रोको सब्स्क्रिप्सन लिन सक्नेछन् भने क्याब राइडरले एक हजार ९९९ रुपैयाँमा सब्सक्रिप्सन लिन सक्नेछन् । 

योजनाको सुरुवातमा भने अफरका रुपमा बाइक चालकका लागि रु. ४९९ र ट्याक्सी चालकका लागि रु. ९९९ मासिक शुल्क तोकेको छ । कम्पनीका अनुसार चालकले एकपटक यो सब्सक्रिप्सन लिइसकेपछि महिनाभर गरेको कुनै पनि राइडमा कमिसन तिर्नुपर्ने छैन । यसमा बीमा र कर बाहेकका अन्य थप शुल्क नलाग्ने बताइएको छ।

हाल कम्पनीले बाइकमा १५ प्रतिशत र क्याबमा १२ प्रतिशत कमिशन लिँदै आएको छ । 

ज्याप सर्भिसेस प्रा. लि. का प्रबन्ध निर्देशक रुबिक जोशीले टुटल प्रोलाई ‘गेम चेन्जर’ योजना भन्दै चालकलाई पारदर्शिता, आम्दानीको पूर्ण अधिकार र कामको स्वतन्त्रता दिने उद्देश्यले ल्याइएको बताए । 

टुटल प्रो योजनाले २४/७ सवारी सेवा दिने सुविधा, सीमाहीन यात्राको अवसर र पारदर्शी शुल्क संरचना उपलब्ध गराउने कम्पनीको भनाइ छ । यो योजना ती चालकहरूका लागि उपयुक्त हुने कम्पनीको विश्वास छ, जो पार्टटाइम वा फुलटाइम रुपमा बढी आम्दानी गर्न चाहन्छन्, र कमिसन कटौतीबाट थाकिसकेका छन्। इच्छुक चालकहरूले टुटल एप डाउनलोड गरी योजना सुरु गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १७:४४