close

गुगलले ल्यायो नयाँ सब्स्क्रिप्सन मोडेल, मासिक ३४ हजार तिरेर सबै एआई मोडेल प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

जेठ ७, २०८२ १२:६

गुगलले ल्यायो नयाँ सब्स्क्रिप्सन मोडेल, मासिक ३४ हजार तिरेर सबै एआई मोडेल प्रयोग गर्न सकिने

काठमाडौँ। गुगलले आफ्नो सबै एआई टुलको एक्सेस दिने नयाँ सब्सक्रिप्सन मोडेल सार्वजनिक गरेको छ । मङ्गलबार आयोजित गुगल आईओ (I/O) कार्यक्रममा कम्पनीले नयाँ सब्क्रिप्सन मोडेल ‘एआई अल्ट्रा’ घोषणा गरेको हो । 

यसका लागि प्रयोगकर्ताले प्रति महिना २४९.९९ अमेरिकी डलर (करिब ३४ हजार रुपैयाँ) तिर्नुपर्नेछ । यो नयाँ प्लान लिने प्रयोगकर्ताले गुगलका एआई एप जेमिनाई, नोटबुकएलएम, व्हिस्क र नयाँ एआई भिडियो जेनेरेसन टुल ‘फ्लो’ प्रयोग गर्न सक्नेछन् । निःशुल्क यी प्लेटफर्म प्रयोग गर्दा सीमित प्रम्प्टमा मात्र काम गर्न सकिन्छ । त्यही सीमितताका कारण यी टुल प्रयोग गर्न नपाएका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो नयाँ सब्स्क्रिप्सन प्लान ल्याएको हो ।

‘एआई अल्ट्रा’ प्लान अन्तर्गत प्रयोगकर्ताले जेमिनाई २.५ प्रो को नयाँ रिजनिङ मोड ‘डिप थिङ्क’ पनि प्रयोग गर्न पाउनेछन् । यो मोडेल ‘अत्यन्त जटिल’ गणित र कोडिङका लागि डिजाइन गरिएको हो । यसले क्रोममा जेमिनाईको एक्सेस दिने कम्पनीले जनाएको छ । यसले गर्दा यो नयाँ सब्स्क्रिप्सन लिने प्रयोगकर्ताले आफ्नो ब्राउजरभित्रै त्यसको छेउमा जेमिनाई एआई प्रयोग गर्न सक्नेछन् । 

यो नयाँ सब्स्क्रिप्सन लिने प्रिमियम सदस्यले गुगलको एआई अनुसन्धान प्रोटोटाइप ‘प्रोजेक्ट मेरिनर’ पनि प्रयोग गर्न सक्नेछन् । यसले एकै पटकमा १० ओटासम्म काम स्वचालित रूपमा गर्न सक्छ । खासगरी जानकारी खोज्ने, बुकिङ गर्ने र विभिन्न प्रडक्ट खरिद गर्ने काम यो टुलले गर्न सक्छ । 

‘एआई अल्ट्रा’ योजना खरिद गर्ने प्रयोगकर्ताले युट्युब प्रिमियम पनि प्रयोग गर्न सक्नेछन् । त्यस्तै गुगल फोटोज, ड्राइभ र जीमेलमा ३० टीबीसम्मको स्टोरेज पनि पाउने कम्पनीले उल्लेख गरेको छ । यो नयाँ सब्स्क्रिप्सन मोडेल मङ्गलबारदेखि अमेरिकामा उपलब्ध भइसकेको छ भने कम्पनीले अन्य देशमा पनि विस्तार गर्न सुरु गरेको छ ।

गुगलले प्रति महिना १९.९९ डलर पर्ने ‘एआई प्रो’ प्लान पनि अपग्रेड गरेको छ । यसले अब भिडिओ जेनेरेसन टुल ‘फ्लो’ र क्रोममा जेमिनाईमा अतिरिक्त शुल्क बिनै एक्सेस दिनेछ । अर्थात यो प्लान गर्ने प्रयोगकर्ताले फ्लोमा एआई भिडिओ तयार पार्न सक्नेछन् । अपग्रेड गरिएको ‘एआई प्रो’ प्लान पहिले अमेरिकामा र त्यसपछि अन्य प्रयोगकर्ताका लागि उपलब्ध हुने गुगलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ १२:३३